३३ प्रतिशत महिला संसदीय समितिको सभापतिमा अनिवार्य

२५ जेष्ठ २०७५, शुक्रबार ०९:०१

जेठ २५, काठमाडौं ।

‘मिनी पार्लियामेन्ट’ भनिने संसदीय समितिको सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने भएको छ ।

शुक्रवार प्रतिनिधिसभाबाट पारित हुन लागेको संसद कार्यसञ्चालन नियमावलीमा संसदीय समितिको सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य गर्न लागिएको हो ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा नियमावलीको मस्यौदा पेश गर्दै समितिका सभापति कृष्णभक्त पोखरेलले संसदीय समितिको सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको बताए ।

प्रतिनिधि सभामा १० वटा समिति बनाउन प्रस्ताव गरिएको छ ।

नियमावलीको व्यवस्था अनुसार कम्तिमा ३ जना महिला सभापति बन्नेछन् । संसदीय समिति सभापतिको सुविधा राज्यमन्त्रीसरह हुन्छ ।