१५ दिनमा दूधको मूल्य बढ्छः कृषिमन्त्री खनाल

१७ श्रावण २०७६, शुक्रबार १४:४७

भरतपुर , कृषि तथा सहकारीमन्त्री चक्रपाणी खनालले दुग्ध उत्पादक कृषकहरुको माग १५ दिन भित्र पुरा गर्ने दाबी गर्नु भएको छ । शुक्रबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खनालले दुग्ध उत्पादक कृषकको माग सुनुवाईका लागि कार्यादल गठन गरी प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

बिहीबार मात्रै दूधको मूल्य कम्तीमा १० रुपैयाँले बढाउनुपर्ने माग राख्दै चितवनका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सरकारलाई सातादिनको समय दिएका थिए । उनीहरुले दुग्ध उत्पादक सहकारीहरुलाई लगाइने करमा समेत छुट गर्न कृषकहरुले माग गरेका छन् ।

कृषीमन्त्री खनालले कार्यदलले १५ दिन भित्र उचित मूल्य निर्धारण गर्ने बताउनु भयो । हरेक दुईदुई वर्षमा दूधको मूल्य वृद्धि गर्ने सरकारको रणनीति भएपनि यसपटक लामो समय लागेको उहाँले जानकारी दिनु भयो । यद्यपी सरकार र मन्त्रालय कृषककै पक्षमा रहेको भन्दै कृषकहरुलाई नआत्तिन उहाँले आग्रह गर्नु भएको छ ।