१२ वर्षीया गर्भवती गंगामाया अस्पतालमा

४ मंसिर २०७५, मंगलवार ०८:५९

हेटौँडा–
गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उनलाई अस्पताल लगिएको छ ।

गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्दै गरेको सञ्चार माध्यममा सार्वजनिक भएपछि उपचारार्थ अस्पताल लगिएको छ । प्रधानमन्त्री कार्यालयले गङ्गामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङ्गको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो ।

राक्सिराङ गाउँपालिकाको ३ स्थित माइतीघरमा बस्दै आएकी चेपाङलाई उपचारका लागि ल्याउन अन्यले गरेको प्रयास उनीहरुको डरका कारण असफल भएको थियो । गाउँपालिका उपाध्यक्ष हिम्डुङ्गले सम्झाइबुझाई गरेपछि उपाध्यक्षको साथ लागेर अस्पताल आमा राममायासँगै गङ्गामाया आएकी हुन ।
अस्पतालमा गङ्गामायाको प्रारम्भिक जाँच गरिएको छ । उपचारमा संलग्म हेटौँडा अस्पतालका डाक्टर निशा राईले बाल अवस्थामा गर्भवती भएकोले जोखिम रहेको भन्दै अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताइन। गङ्गामायालाई गाउँपालिकाको पहलमा हेटौँडा अस्पतालमा भर्ना गरिएको छ । गङ्गामायाका पति रञ्जित चेपाङ पछिल्लो समय सम्पर्कमा रहेको आमा राममायाले जानकारी दिइन।
कैलाश गाउँपालिका ७ घर भएका पति रञ्जित घरको आर्थिक अवस्था कमजोर भएकाले अधिकांश समय दैनिक ज्यालादारीका लागि गाउँभन्दा बाहिर जाने गरेका छन । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।