होटलमा घुस दिने सञ्चालक प्रहरीको फन्दामा

२३ माघ २०७४, मंगलवार ०८:०२

माघ २३, काठमाडौं ।

आफ्नो होटलमा चेकजाँच नगरिदिनु भन्दै प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति नै प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी वृत, जनसेवाको प्रहरी टोलीले होटल तथा लजमा चेकजाँच गर्ने क्रममा घुस दिएर होटलमा छापा नमार्न अनुरोध गर्ने श्री गुरु होटलका सञ्चालक भरतपुर महानगरपालिका–१० घर भइ सुन्धारामा होटल सञ्चालन गर्दै आएका २९ वर्षीय सुदिप न्यौपाने पक्राउ परेका हुन्।

उनले छापा मार्न गएको प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठसहितको टोलीलाई घुस स्वरुप नगद ५ हजार रुपैयाँ दिन खोजेका थिए ।

उनलाई पक्राउ परे लगतै सार्वजनिक मुद्दा चलाइएको महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले बताए ।

नेपाल प्रहरीको आर्थिक अनियमिततामा शुन्य सहनशिलताको अवधारणा अनुरुप आन्तरिक सुद्धिकरण अभियान लागू भएपछि प्रहरीमा आएको परिवर्तन बुझ्न नसक्दा होटल सञ्चालक फस्न पुगेका छन् ।