हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलम निलम्बित

२७ आश्विन २०७६, सोमबार १५:२२

काठमाण्डौ , हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।

२०६४ साल असोज २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका ८ जनाको हत्याको आरोपमा आलमलाई प्रहरीले आइतबार रौतहटको राजपुर नगरपालिकाबाट पक्राउ गरेको थियो ।

सोमबार संसद सचिवालयका सचिव डाक्टर भरतराज रेग्मीले सूचना प्रकाशित गर्दै रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद मोहम्मद अफताब आलम कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका सिलसिलामा पक्राउ परेकाले प्रतिनिधि सभा नियमावली–२०७५ को नियम २४४ को उपनियम (३) बमोजिम निलम्बन गरिएको बताउनुभयो ।