हत्याविरुद्ध बाह्रबिसेमा बृहत जनप्रदर्शन

२७ भाद्र २०७५, बुधबार १३:२०

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकले आइतबार हत्या गरिएका नेपाल तरुण दलका लिवाङ नगर समितिका अध्यक्ष रोहित पुनको हत्यारालाई कारबाही माग गर्दै बाह्रबिसेमा विरोध ¥याली प्रदर्शन गरेको छ । विरोध सभा १ नम्बर क्षेत्रीय समितिको विशेष पहलमा आयोजना गरिएको थियो ।

विरोध ¥यालीले बाह्रबिसे बजार परिक्रमा गरी नगरपालिका कार्यालय अगाडि आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न पूर्ण रुपमा असफल भएको बताए ।

परिक्रमापछिको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता युधीर पौडेलले पछिल्लो समय सत्तापक्षीय कार्यकर्ताहरुले नेपाली कांग्रेसका कार्यकर्तामाथि सुनियोजित तबरले आक्रमण गर्ने क्रम बढेको र रोहित पुनको हत्या यसैको पछिल्लो उदाहरण भएको बताए । पौडेलले अगाडि थपे, ‘आगामी दिनमा पनि सरकारले शान्ति सुरक्षा कायम गर्न नसके हामी हातमा दही जमाएर बस्ने छैनौं । ’

विरोध सभामा नेविसंघ नेता नवीन श्रेष्ठ र तरुण नेता फापाङ तामाङले सरकारपक्षीय कार्यकर्ताहरु सत्ता र शक्तिले उदण्ड बन्दै गएका र आगामी दिनमा पनि यसगरी कांग्रेसमाथि धावा बोलेमा त्यसको कडा प्रतिकार गर्न आफूहरु तयार रहेको बताए ।