स्थानीय करका कारण दसैंमा मासु महँगिदै

८ आश्विन २०७५, सोमबार १३:४१

 

काठमाडौं । सरकारले असोज २५ भित्र दसैंका लागि खसीबोका र च्यांग्रा काठमाडौं उपत्यका भित्र्याउने भएको छ । सरकारले यो वर्ष मुस्ताङबाट १ हजार च्यांग्रा तथा दाङ र मकवानपुरबाट १ हजार खसीबोका ल्याउने तयारी गरेको हो ।


नेपाल खाद्य संस्थानले मुस्ताङस्थित संस्थानको शाखा कार्यालयले खरिद गरेका च्यांग्रा म्याग्दीको बेनी हुँदै काठमाडौंसम्म ढुवानी गर्न टेन्डर आह्वान गरेको छ । संस्थानका अनुसार असोज २० गतेसम्ममा ठेक्काको काम सकिने र २५ गतेभित्र च्यांग्रा काठमाडौं आइपुग्ने छन् । मकवानपुर र दाङबाट आउने खसीबोका पनि सोही समयमा आउने संस्थानले जनाएको छ ।
संस्थानले तराईबाट आउने अरु खसीबोका भने सम्बन्धित जिल्लास्थित सीडीओ कार्यालयले व्यवस्था गर्ने जनाएको छ । संस्थानले आफूसँग खसीबोका राख्न पर्याप्त ठाउँको अभावका कारण घटस्थापनाको दिनमात्र खसीबोका ल्याउने जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका लागि २ हजार खसीबोका ल्याएर मूल्यदर कायम गर्ने र निजी क्षेत्रबाट हुने मनपरी तथा कालोबजारी रोक्ने संस्थानको दाबी छ । संस्थानले यो वर्ष ल्याउन लागेको खसीबोका तथा च्यांग्राको संख्या गतवर्षको तुलनामा कम हो । गतवर्ष संस्थालने २५ सय खसीबोका तथा च्यांग्रा बिक्री गरेको थियो ।

खसीबोका राजधानी आइपुग्ने मिति तय भइसकेपनि संस्थानले मासुको मूल्य भने निर्धारण गरिसकेको छैन । संस्थानका महाप्रबन्धक योगन्द्र गौचनका अनुसार ढुवानीमा लाग्ने लागतको आधारमा मूल्य निर्धारण गर्नुपर्ने भएकाले अहिले नै अनुमान लगाउन नसकिने भएको हो ।

तर, यसपालि आउने खसीबोका तथा च्यांग्रा विगत वर्षका दाँजोमा भने केही महँगो हुनेछन् । महाप्रबन्धक गौचनले भने, “स्थानीय करका कारण उपभोक्ता मूल्यमा केही चाप पर्ने देखिएको छ ।” निजी क्षेत्रले पनि संस्थानको मूल्यको अनुपातमै मासुको मूल्य निर्धारण गर्ने उनले बताए ।

संस्थानले दसैंतिहार लक्षित सुपथ मूल्य पसल असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म सञ्चालन गर्ने भएको छ ।