‘सामसुङ’ले ‘एप्पल’लाई झण्डै ५८ अर्ब रुपैयाँ जरिवाना तिर्नुपर्ने

१७ जेष्ठ २०७५, बिहीबार १०:०१

जेठ १७, काठमाडौं । एजेन्सी

एप्पल र सामसुङ दुनियाका सबैभन्दा ठूला स्मार्टफोन निर्माता कम्पनीको रुपमा रहेका छन् । यी दुई कम्पनीहरु गत सात वर्षयता अमेरिकामा पेटेन्टसँग सम्बन्धित एउटा पेचिलो कानूनी लडाइँ लडिरहेका छन् ।

त्यसमध्ये एउटा मुद्दामा गत २४ मे मा फैसला भयो । जसमा एप्पलले जित हात पारेको छ र अब दक्षिण कोरियाली कम्पनी सामसुङले एप्पललाई झण्डै ५८ अर्ब रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

अमेरिकाको क्यालिफोर्नियास्थित सेन जोसे अदालतले एप्पलका विभिन्न महत्वपूर्ण फिचर चोरी गरेको विषयमा सामसुंगलाई दोषी ठहराएको छ ।

सामसुंगले आफ्ना स्मार्टफोनहरुमा एप्पलका आइफोन तथा आइप्याण्डको डिजाइन तथा फंक्सन नक्कल गरेको कारण देखाउँदै अदालतले यस्तो ठहर गरेको हो ।

सामसुंग माथिको आरोप

सन् २०११ मा पेटेन्टको विषयमा एप्पल र सामसुंगबीच कानूनी लडाइँ सुरु भएको हो । एप्पलले सामसुंगमाथि आइफोन तथा आइप्याडका राउन्डेड कर्नरका साथै त्यसको आकार र टचस्क्रिनको नक्कल गरेको आरोप लगाएको थियो ।

सन् २०१२ मा एक अदालतले सामसुंगले एप्पलका तीनवटा डिजाइन चोरीको गरेको भन्दै दोषी ठहर गर्दै सामसुङमाथि १ अर्ब ५ करोड डलर जरिवाना हुने फैसला गर्यो ।

उक्त फैसलामा टिप्पणी गर्दै सामसुङले भनेको थियो, ‘पेटेन्ट कानून कुनै कम्पनीले गोलो छेउँ किनाराको आकारमाथि एकाधिकार कायम गर्नमा समेत प्रयोग गर्नसक्छ भन्ने कुरा दुर्भाग्यपूर्ण छ ।’

उक्त फैसलाको विरुद्धमा सामसुङले माथिल्लो अदालतमा अपिल गरेको थियो । जसमा सामसुङले जरिवाना रकमलाई घटाएर २ करोड ८० लाख डलर मात्र कायम गर्नुपर्ने उसको दाबी थियो ।

के आयो फैसला ?

एउटा आइफोनको कूल मूल्यबाट हासिल हुने लाभको हिसाब जोडेर एप्पलले सामसुंगसँग २५ सय मिलियन डलर क्षतिपूर्तिको माग गरेको थियो ।

तर यतिधेरै रकम भुक्तान गर्न रामसुंग तयार भएन र पुनरावेदन गरेसँगै विवाद यति लामो समयसम्म चलिरह्यो । अदालतको पछिल्लो फैसलापछि विज्ञप्ती जारी गर्दै एप्पलले भनेको छ, ‘ हामी यसकारण खुसी छौँ की सामसुङले एप्पलको नक्कल गरिरहेको थियो भन्ने कुरा अदालतले समेत मानेको छ ।’

एप्पलले भनेको छ, ‘हाम्रो टिम कडा मेहेनत गरी आफ्ना ग्राहकका लागि नयाँ नयाँ इनोभेटिम प्रडक्ट बनाउँदछ । यो मुद्दा हाम्रो लागि केवल पैसाको लागि मात्र थिएन । ’

यद्यपि, सामसुङले चाहिँ अदालतलको पछिल्लो फैसला पनि अमेरिकी सर्वोच्च अदालतको नजिरसँग मेल नखाने दाबी गरेको छ । डिजाइन पेटेन्टका सम्बन्धमा भएको क्षतिका आकारका सन्दर्भमा सर्वोच्च अदालतले यसअघि गरेको फैसला आफ्नो पक्षमा रहेको सामसुङको भनाइ छ ।

तर सिंगापुरस्थित रिसर्च फर्म आइडिसीका टेक्नोलोजी विश्लेषक किरनजित कौरका अनुसार यो कुनैपनि कम्पनीका लागि स्पष्ट जित होइन । किनकि एप्पलले साढे २ अर्ब डलर क्षतिपूर्तिको दाबी गरेको थियो । उता सामसुंगले अझै पनि सर्वोच्च अदालत सम्मै अपिल गर्नसक्ने सम्भावनालाई समेत उनी नकार्दैनन् ।

उनी भन्छन्, ‘यो अरु साना कम्पनीहरुका लागि पनि चेतावनी जस्तै हो की कमसे कम उनीहरु अमेरिकाजस्तो देशको बजारमा पेटेन्टको उल्लंघन गर्ने प्रयास नगरुन् ।’