सानेपामा काङ्ग्रेसको चियापान चल्दै

१६ कार्तिक २०७५, शुक्रबार १४:३८

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।

 

चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरेका छन्।

आजै केन्द्रीय कार्यालयसहित ७७ वटा जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चल्नेछ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकार, गैरआवासीय नेपाली सङ्घसंस्थाका प्रमुखलगायत विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता
रहेको छ ।