सरकार भन्छ– कोरोनासँग आत्तिनुपर्दैन

७ चैत्र २०७६, शुक्रबार ०८:४७

काठमाडौं, विश्वका एक सय ७७ देशमा फैलिसकेको कोरोना भाइरस (कोभिड–१९) नेपालसँग खुला सीमा रहेको भारतमा तीव्र बन्दै छ । सरकार भने नेपालमा संक्रमण नभएकाले नागरिकलाई नआत्तिन भनिरहेको छ ।

पूर्वतयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले सरकार सबै पक्षमा सावधानीसहित तयारी अवस्थामा रहेकाले आत्तिनु नपर्ने बताए । ‘सरकार स्वास्थ्य, सुरक्षा, आप्रवासन, आपूर्तिलगायत सबै क्षेत्रमा सावधानीसहित तयारी अवस्थामा छ,’ उनले भने ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा खाद्यलगायत वस्तुको अभाव हुन नदिने दाबी गरे । ‘चारदेखि ६ महिना पुग्ने खाद्यान्न छ, आठ महिना धान्ने औषधि र चारदेखि ६ महिना धान्ने कच्चा पदार्थ छ,’ मन्त्री भट्टले भने, ‘१० महिना माग धान्ने नुन, चिनी तीन महिनालाई पुग्छ, ग्यासको आयात झन्डै दोब्बर बनाइएको छ । आयात जारी रहेकाले खाद्यान्नलगायत वस्तु अभाव हुँदैन ।’

कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि रोक्न अनुगमन प्रभावकारी बनाइएको पनि उनले बताए ।

‘गृह, स्वास्थ्य र कृषि मन्त्रालयसँगको समन्वयमा अनुगमन प्रभावकारी बनाइएको छ । जिल्ला प्रशासन, प्रदेश र स्थानीय तहसँग पनि समन्वय गरिएको छ । संकटका वेला फाइदा लिन खोज्नेलाई कानुनी दायरामा ल्याइन्छ,’ मन्त्री भट्टले भने । उपभोक्ताले सञ्चित गर्न थालेका कारण पनि बजारमा अभाव भएको उनको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल खोल्ने तयारी गरिएको मन्त्री भट्टले बताए । त्यस्तै साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमार्फत पनि यस्ता सहुलियत पसल खोलिने बताए । मास्क र सेनिटाइजरको खपत एक्कासि बढ्दा अभाव भए पनि आयात बढाएर तथा स्वदेशमै उत्पादन गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको उनको दाबी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीले कोभिड–१९ को विश्वव्यापी संक्रमणलाई सरकारले नजिकबाट नियाल्दै तयारी गरिरहेको बताए ।

‘परीक्षणका लागि सरकार क्षमतावान् छ, पर्याप्त मेडिकल सामग्री छन्,’ उनले भने, ‘हालसम्म करिब पाँच सयको नमुना परीक्षण भएको छ, तर कसैमा पनि संक्रमण देखिएको छैन । संकट निम्तिए पनि सरकार सामना गर्ने अवस्थामा छ ।’ (आजको नयाँ पत्रिकाबाट)