सरकार प्रजातन्त्र विरोधीः देउवा

१९ जेष्ठ २०७६, आईतवार १२:३९

भैरहवा , प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्र विरोधी भएको आरोप लगाउनु भएको छ । कांग्रेस जिल्ला कमिटी रुपन्देहीको जिल्ला सम्मेलनमा शनिबार देउवाले केपी ओली सरकारले प्रजातन्त्रका हरेक मूल्य मान्यता कुल्चेको भन्दै सरकार प्रजातन्त्र विरोधी भएको बताउनु भएको हो । ‘जुन देशमा न्यायपालिका स्वतन्त्र हुँदैन, त्यो देशमा केही पनि स्वतन्त्र हुँदैन,’ उहाँले भन्नु भयो ।

सरकारले न्यायपालिका मात्र नभएर प्रेस, मानवअधिकार आयोगलगायत प्रजातन्त्रको मुख्य आधार रहेका अंगमाथि विधेयक ल्याएर नियन्त्रण गर्ने प्रयास गर्नु प्रजातन्त्रविरुद्ध रहेको उहाँको भनाइ थियो । राणा र पञ्चायत हटाउनेदेखि लिएर गणतन्त्र ल्याउनेसम्म कांग्रेसले ठूलो भूमिका खेलेको बताउँदै देउवाले अब कम्युनिस्ट हटाउन आन्दोलन गर्न तयार रहेको जानकारी गराउनु भयो ।