सरकारले क्षमताभन्दा ठूलो बजेट ल्यायो, कार्यान्वयन हुँदैन

१६ जेष्ठ २०७७, शुक्रबार १७:३७

काठमाडौं, पूर्व अर्थमन्त्री डा रामशरण महतले सरकारले ल्याएको यस पटकको बजेटलाई प्रचारमुखीको संज्ञा दिनु भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनु भएका महतले सरकारले प्रचारात्मक शैलीको बजेट ल्याएको आरोप लगाउनु भएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको कार्यक्रममा शुक्रबार बोल्दै उहाँले बजेट इच्छा, आकाङ्क्षाले परिपूर्ण रहेको उल्लेख गर्नु भयो । कृषि, रोजगारी क्षेत्रमा केही विषय समावेश गरिएको भए पनि सरकारको कार्यान्वयनको क्षमता नभएकाले आगामी आर्थिक वर्षको बजेटसमेत कार्यान्वयन हुने अवस्था नभएको महतले बताउनु भएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, बैंकिङ क्षेत्रमा भएको प्रगति गएको दुई दशकबढीको उपलब्धि भएको स्पष्ट पार्दै उहाँले बजेट कार्यान्वयन हुन सक्नेभन्दा ठूलो रहेको उल्लेख गर्नु भयो । कार्यान्वयन हुन सक्नेभन्दा ठूलो बजेट बनाइएको आरोप लगाउँदै उहाँले आफूहरुले झण्डै १४ खर्ब जतिको बजेट वस्तुपरक हुने सुझाव यसअघि दिएको स्मरण गर्नु भयो । तर पनि त्यसको सुनुवाइ नगरी हौसिएर बजेट ल्याइएको उहाँले बताउनु भयो । बजेटको कूल ३६ प्रतिशत आन्तरिक स्रोतबाट उठाउने विषय राम्रो नभएको स्पष्ट पार्दै उहाँले राष्ट्रिय ऋण बढेर भावी पुस्तालाई समेत समस्यामा पार्न सक्ने चिन्ता जनाउनु भयो ।