समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउन राष्ट्रपति भण्डारीको सुझाव

२१ आश्विन २०७५, आईतवार १६:५६

 

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिनु भएको छ ।

राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिनु भएको छ ।

 

आइतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उहाले वातावरण प्रदूषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

राष्ट्रपति भण्डारीले वायु प्रदूषण न्यूनिकरणका लागि पेट्रोलियम पदार्थलगायतका वायु प्रदूषण गर्ने पदार्थहरुमा लगाइएको कर सदुपयोग गर्न उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण विनाशलाई रोक्न प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभावकारी रोक्न सरकार लागि पर्ने पनि बताउनु भयो ।

मन्त्री बस्नेतले वातावरण सम्मेलनले स्वच्छ वातावरण निर्माणका लागि ठोस धारणा तय गर्न सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गर्नु भयो ।