सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्समाथि एक विकेटको रोमान्चक जित हात पारे : इन्डियन प्रिमियर लिग

३० चैत्र २०७४, शुक्रबार ११:१०

चैत ३०, काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्समाथि एक विकेटको रोमान्चक जित हात पारेको छ ।

आईपीएलको जारी ११ औं संस्करणमा हैदरावादको यो लगातार दोस्रो जित हो । तर मुम्बईले लगातार दोस्रो पटक हार व्यहोर्‍यो ।

बिहीबार टस हारेर पहिले व्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । १४८ रनको विजय लक्ष्य हैदरावादले अन्तिम ओभरमा एक बल बाँकी छँदा भेटायो ।

यो जितमा शिखर धवनको ४५ रन र दीपक हुड्डाको अविजित ३२ रनको योगदान प्रमुख रह्यो । ‘गब्बर’को उपमा पाएका शिखर धवनले २८ बलमा ४५ रनको धुवाधार खेल खेले । उनले ८ चौका प्रहार गरेका थिए ।

हैदरावादलाई १२ बलमा १२ रन आवश्यक थियो । १९ औं ओभरमा खेल्न आएका मुस्ताफिजुर रहमानले यस ओभरमा मात्र एक रन बनाउन सके । लगातार दुई विकेट गुमाएपछि हैदरावाद संकटमा परेको थियो । तर २३ बल सामना गरेर २२ रन बनाएका दीपक हुड्डाले अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरेर टिमलाई जित दिलाए ।

युवा लेग स्पिनर मयंक मार्कन्डेयले चार र मुस्ताफिजुर रहमानले ३ विकेट झारे । जसपि्रत बुमराहले २ विकेट हात पारे ।

यसअघि टस हारेर व्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । उसका लागि इविन लुविसले २९ तथा सूर्यकुमार यादव र काइरोन पोलार्डले समान २८ रन बनाएका थिए ।

हैदरावादको तर्फबाट सन्दिप शर्मा, कोल र स्टानलेकले २-२ विकेट लिए । राशिद खान र शकिब अल हसनले एक-एक विकेट झारे ।