श्वेतपत्रबाटै अर्थतन्त्रको बद्‍नामी

२३ भाद्र २०७६, सोमबार १०:१४

काठमाडौं, अर्थमन्त्री डा।युवराज खतिवडाले अर्थतन्त्रलाई बद्नाम गराउन मानिस परिचालित भएको बताएका छन्।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो नहान्न आग्रह गरेका छन्।

उनले अर्थतन्त्र डुब्दा लाइफ ज्याकेट नै लगाएर आएको रहेछ भने पनि सँगै डुब्ने भन्दै सजग हुन गरेको आग्रहप्रति पूर्वअर्थमन्त्री र अर्थशास्त्रीले आलोचनात्मक टिप्पणी गरेका छन्।

दुई तिहाई बहुमतको शक्तिशाली सरकारको अर्थमन्त्री भएपछि खतिवडाले २०७४ चैत १६ गते श्वेतपत्र जारी गरेका थिए। ‘त्यही श्वेतपत्रमा उल्लिखित विज्ञ अर्थमन्त्रीको अवलोकनरसिंहावलोकनले अर्थतन्त्र अधोगतितर्फ धकेलिएको हो’, पूर्वअर्थमन्त्री डा।प्रकाशचन्द्र लोहनीले भने, ‘हामीले भ्रष्टाचार रोक्नुपर्‍यो। सार्वजनिक खर्च प्रणालीमा सुधार गरेर विकास खर्च बढाउनुपर्‍यो। ४४ प्रतिशत विकास खर्च गरेर उहाँले ठूलै प्रगति गर्नुभएछ।’

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको श्वेतपत्रमा ‘मुलुकको ढुकुटी रित्तो रहेको’ र ‘निजीकरणको अभ्यास मूलतः असफल देखिएको’ टिप्पणी गरेका थिए।

निजीकरणमाथिको अविश्वास र मुलुकको ढुकुटी रित्तो रहेका जस्ता गतल टिप्पणीका कारण स्वदेशी र विदेशी लगानी आकर्षित हुन नसकेको अर्थशास्त्री बताउँछन्।

‘अहिले नै उहाँका कामकारबाहीको मूल्यांकन गर्नु अलिक हतारो हुन्छ’, अर्थशास्त्री विश्व पौडेल भन्छन्, ‘उहाँलाई आफूले चलाएको अर्थतन्त्रको प्रतिरक्षा गर्ने स्वतन्त्रता छ। तर, उहाँले पहिल्यै हलुका ढंगले टिप्पणी नगरेको भए राम्रो हुन्थ्यो।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।