श्वासप्रश्वासको दीर्घ रोग सिओपिडी के हो ? रोकथाम कसरी गर्ने ?

४ मंसिर २०७६, बुधबार १३:३३

मानिसको फोक्सोको साथै फोक्सोमा रहेका हावाका साना नलीहरु स्थायी रुपमा क्षति भएर (प्रायःजसो धुम्रपान गर्नाले) श्वास लिन कठिनाइ हुने अवस्थालाई दीर्घ अवरोधात्मक श्वासप्रश्वास (सिओपिडी) रोग भनिन्छ। दम रोगमा जस्तो दीर्घ अवरोधात्मक श्वासप्रश्वास सम्बन्धित रोगको प्रक्रियालाई औषधिले पूर्ण रुपमा उल्टाउन वा साधारण अवस्थामा ल्याउन सक्दैन।

यो रोग धुवाँको कारणले लाग्दछ। त्यसमा पनि धुम्रपान ।चुरोट वा अन्य सूर्तिजन्य पदार्थ सेवन गर्नु यो रोग लाग्नुुको एक प्रमुख कारण हो। परम्परागत चुलोको प्रयोग (गोबरग्याग वा दाउराको) ले घरभित्र हुने वायु प्रदुषण वा वातावरणीय प्रदुषण पनि यो रोग लाग्नुका कारण हुन्।

लक्षण
– छिटोछिटो श्वास फेर्नु। सुरुको अवस्थामा सामान्य काम गर्न कठिनाइ हुने तर पछि गएर आराम गरिरहेको अवस्थामा पनि श्वास फेर्न कठिनाइ हुने।
– खोक्दा खकार आउनु।
– आवधिक अन्तरालमा गम्भीर किसिमका लक्षणहरुको वृद्धि हुनु। यस्तो विशेष गरी जाडो महिनामा र संक्रमण भएको अवस्थामा हुने गर्दछ।
– यो रोग लाग्नुको मुख्य कारण धुम्रपान सेवन गर्नु हो। बिरामीको रोग लागिसकेको पछिको अवस्थामा यदि धुम्रपान त्यागेमा यसले सो बिरामीलाई केही फाइदा भने अवश्य गर्छ। त्यसैले धुम्रपान गर्ने बानी छोडाउन सबै प्रयास गरिनुपर्छ।
– यस्ता लक्षणहरुलाई औषधिले कम गर्न सकिन्छ तर त्यसको लागि चिकित्सकको सल्लाह बमोजिम औषधिहरु नियमित रुपमा सेवन गर्नुपर्छ। लक्षणह्रु अनियन्त्रित रुपले बढेमा तुरुन्तै औषभि उपचार गरिनुपर्छ। वा आवश्यक परेमा उपचार गर्न अस्पताल भर्ना हुनुपर्छ।
– पर्याप्त उपचार र सम्भावित जटिलताहरु रोक्न नियमित स्वास्थ्य जाँच गर्नुपर्छ।

रोगको रोकथाम र व्यवस्थापन
– धुम्रपान नगर्ने। यसका कारण लाग्ने रोगहरु निकै घातक हुन्छन्।
– धुम्रपान छोड्न नसक्ने व्यक्तिले चिकित्सको सल्लाह लिने। तर अरु व्यक्तिको सहयोग भन्दा तपाइ छोड्ने इच्छाशक्ति बढी हुनुपर्छ।
– खाना पकाउन परम्परागत चुलोको सट्टा आधुनिक धुवाँरहित चुलोको प्रयोग गर्ने। घरभित्र वायु प्रदुषण हुनबाट रोक्ने। वायु प्रदुषणबाट आफुलाई बचाउने। यदि प्रदुषित वातावरणमा काम गर्नुपरेमा सही किसिमको मास्क लगाउने वा सफा कपडाले नाममुुख छोप्ने।
– रोग गम्भीर अवस्थामा पुगेको पहिलो कुनै लक्षण देख्ने बित्तिकै बिरामीलाई तुरुन्तै चिकित्सक कहाँ लैजानुपर्छ। समय रहँदै उपचार गरेमा जटिलताबाट बच्न सकिन्छ।
– नियमित रुपमा औषधि सेवन गर्नुपर्छ। चिकित्सकको सल्लाहबमोजिम प्रयोग मात्र अक्सिजन थेरापीले काम गर्छ।
– गम्भीर किसिमको संक्रमण भइ अझ स्थिति बिग्रन बिरामीलाई खोप लगाउनेबारे चिकित्सकसँग सोध्नुहोस्।स्वास्थ्य खबरपत्रिकाबाट