वैकल्पिक शक्तिको खोजी गदै डा भट्टराई पार्टी एकताको गृहकार्यमा

२० बैशाख २०७६, शुक्रबार १०:५६

काठमाडौं, नयाँ शक्ति पार्टीको संयोजक एवंम पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई अन्य तीन पार्टीसँग एकता गर्ने तयारीमा लाग्नुभएको छ ।

नयाँ शक्ति पार्टीको कार्यालयमा नयाँ शक्तिसहित संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीका शीर्ष नेताबीच भएको छलफलले एकताको खाका तयार पार्न डा।भट्टराईलाई जिम्मेवारी दिएको स्रोतले बताएको छ ।

नेतृत्वको वैकल्पिक नयाँ पार्टी निर्माण गर्ने उद्देश्यले चार पार्टीबीच एकताका लागि सैद्धान्तिक सहमति भइसकेको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरम एकताको अन्तिम तयारीमा पुगेको बेला राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीलाई समेत एकतामा ल्याउने गरी सहमति भएको बताइएको छ ।

आ–आफ्नो पार्टीमा थप छलफल गरेर एकताको तयारी गर्ने र पुनः केही दिनभित्र चारै दलबीच बैठक बस्ने सहमति बनेको छ । छलफलमा भट्टराईसँगै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाको सहभागिता रहेको थियो ।