वीरताको गाथा जोडेर पदमार्गको विकास

२७ पुष २०७६, आईतवार १०:४८

काठमाडौं, प्राकृतिक सौन्दर्य, खानाका परिकार, संस्कृति, सम्पदा र इतिहासका चाखलाग्दा कथाले पर्यटकलाई लोभ्याउँछ । इतिहासका कथा र नेपाली वीरताका गाथा जोडेर पदमार्गको विकास गर्न गहन अध्ययनसमेत भइरहेको छ ।

नेपाल एकीकरण र त्यसपूर्वको इतिहासलाई पर्यटकीय ‘प्याकेज’ बनाउन सकिन्छ ? इतिहासकार प्रा दिनेशराज पन्त इतिहासको खोजी गरेर ती ठाउँमा पर्यटक लैजानु भनेको इतिहासको पनि सम्मान हो । यो निकै राम्रो काम हुने बताउँछन् ।

नेपाली सेनाले आफ्नो संयन्त्र परिचालन गरेर देशभरका गढी, किल्लाको अध्ययन गरिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० कै सन्दर्भमा नेपाल सरकारले एकीकरण पदमार्गको प्रवद्र्धन गर्ने योजनासमेत बनाएको छ ।

एकीकरण पदमार्गको अध्ययनमा संलग्न तथा नेपाली सैनिक प्रतिष्ठानका प्रा।डा।कमलसिंह राठौर भन्छन्, ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा यात्रा गरेका मार्गलाई पहिलो चरणमा अध्ययन गरिएको छ । यो मार्गमा पदयात्रासमेत सम्पन्न गरिएको छ ।’

पृथ्वीनारायण शाहले १८०१ साल असोज १५ गते नुवाकोट विजय गरेपछि काठमाडौँलाई घेराबन्दी गर्ने क्रममा उत्तरतर्फ हुँदै पूर्व बढेका थिए गोर्खाली । कहिले विरोधीका किल्ला कब्जा गर्दै, कहिले पछाडि सर्दै गर्ने क्रममा कीर्तिपुरमा पहिलोपटक १८१४ साल जेठ १९ गते आक्रमण गरिएको थियो ।

कान्तिपुर अधीनस्थ नुवाकोट जितेको २५ वर्षपछि अर्थात् १८२५ साल असोज १३ गते काठमाडौँको शासन सत्ता पृथ्वीनारायण शाहले लिएका थिए ।

यसअघि मकवानपुर राज्यको नियन्त्रणमा रहेको सिन्धुलीगढी कब्जा गरेका गोर्खालीले मकवानपुर राज्य पनि जितेपछि काठमाडौँ पूर्णतः घेराबन्दीमा परेको थियो । इतिहासकार प्रा।पन्त काठमाडौँ घेराबन्दीमा परेपछि राजा जयप्रकाश मल्लले अङ्ग्रेजसँग सैनिक सहायता मागेका थिए ।

जयप्रकाशलाई सहायता गर्न आएका किनलक नेतृत्वको अङ्ग्रेज सेनासँग सिन्धुलीगढीमा १८२४ साल असोज १५ गते युद्ध भएको थियो ।

एकीकरण पदमार्गमा इतिहासका यिनै किल्ला र गढी जोड्ने योजना छ, गोरखा पश्चिम र सिन्धुलीगढी पूर्वतर्फ पनि । पहिलो चरणमा नेपाली सैनिकका श्रीनाथ, कालीबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुज गणको सहभागितामा गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरिएको छ ।(आजको गोरखापत्र दैनिकबाट)