विराटनगर लाई हरायो पोखरा ले

९ कार्तिक २०७५, शुक्रबार १५:३१

पोखरा । युवा खेलाडी आशिफ शेखले अर्धशतक बनाएपछि पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिगमा विजयी शुरुआत गरेको छ । शरद भेषावकरको पोखराले शुक्रबार सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो ।

आक्रामक ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रनको योगफल बनाएको थियो । १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगर टाइटन्सले ८ विकेट गुमाएर १ सय ३९ रनमात्र बनाउन सक्यो ।पोखरा रंगशालामा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । कप्तान सन्दीपको निर्णय विराटनगरका लागि सही सावित हुन सकेन । घरेलु टोली पोखरा पल्टनका ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई राम्रो शुरुआत दिए । कुशलले आसिफसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । २६ बलमा ५ चौका र २ छक्का हान्दै ३८ रन जोडेका कुशल सन्दीप लामिछानेको बलमा प्रदीप ऐरीमार्फत् क्याच भए ।

सातौं ओभरको पहिलो बलमा कुशल आउट हुँदा पोखराले ५३ रन बनाइसकेको थियो । आशिफले संयमित ब्याटिङ गर्दै पोखराको इनिङ उकासे । आशिफले भारतीय खेलाडी रवि इन्दर सिंहसँग दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । ५४ बलमा ५ चौका र १ छक्का हानेका आसिफ ५२ रन जोड्दा शाहब आलमको बलमा प्रदीप ऐरीको हातबाट क्याच भए । त्यसअघि २७ बलमा २ चौका र ४ छक्कासहित ४४ रन बनाएका रवि इन्दरलाई सन्दीपले पुष्प थापामार्फत क्याच गरेका थिए ।

अग्रपंक्तिका ब्याट्सम्यानले गरेको राम्रो शुरुआतलाई आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले सुखद अन्त्य गरे । विष्फोटक ब्याटिङ गरेका विनोदले ११ बलमा २ चौका र ५ छक्का हान्दै ४१ अविजित रन बनाए । विनोदलाई पोखराले २ लाख ५० हजार रकममा अनुबन्ध गरेको हो । कप्तान शरद भेषावकर ७ रनमा अविजित रहे । विराटनगरका सन्दीपले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए भने शाहब आलमले ४ ओभरमा ३७ रन दिएर १ विकेट लिए ।

१ सय ९८ रनको विजयी लक्ष्य पाएको विराटनगरले राम्रो बलिङमा जस्तै ब्याटिङमा पनि राम्रो शुरुआत गर्न सकेन । पहिलो पाँच ओभरमा विराटनगरले ३ विकेट गुमाएको थियो । ओपनर प्रदीप ऐरी १०, सुनिल धमला ११ र जितेन्द्रसिंह ठकुरी १० रन बनाएर पवेलियन फर्किए ।विकेटकिपर राजु रिजाल र भारतीय खेलाडी एन्ड्रयू सुविक्षणले चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्दै विराटनगरको इनिङ उकास्ने प्रयास गरेका थिए । तर १४ रन बनाएका सुविक्षणलाई शसरदले शाहल आलममार्फत् क्याच गरे । लगत्तै २७ बलमा २ चौका र २ छक्का हानेर ३० रन बनाएका राजु पनि ललितको बलमा विकेटकिपर आशिफ शेखबाट क्याच भए । त्यसपछि आएका राजु पुलामीमगरले पनि लामो इनिङ खेल्न सकेनन् । राजु पुलामीमगर ७ रनमा पवेलियन फर्किए ।

त्यसपछि पुष्प थापा र कप्तान सन्दीप लामिछानेले सातौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याए । २६ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाएका पुष्प थापा पनि १८।३ ओभरमा पवेलियन फर्किएपछि विराटनगरको झिनो आशा समाप्त भएको थियो । सन्दीप १४ रनमा अविजित रहे । पोखराका ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने मेहबुबु आलम, कृष्ण कार्की, शरद, रसिद खान र विक्रम भुसालको नाममा १–१ विकेट रह्यो । विराटनगरले अब आइतबार धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्नेछ भने सोही दिन पोखराले बुटबल ब्लास्टर्सविरुद्ध खेल्नेछ । शनिबार पहिलो खेल चितवन राइनोजविरुद्ध बुटलब ब्लास्टर्स र दोस्रो खेल काठमाडौं रोयल्स र धनगढी ब्लुजबीच हुनेछ ।