विप्लव नेतृत्वको नेकपाका १७ कार्यकर्ता रिहा

१४ चैत्र २०७५, बिहीबार १५:१५

सिन्धुपाल्चोक, प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा का १७ कार्यकर्तालाई जिल्ला अदालन सिन्धुपाल्चोकले थुनामुक्त गर्न आदेश दिएको छ ।
बुधबारको जिल्ला न्यायधिस टिकाराम आचार्यको इजलासले उनिहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयले राज्य बिरुद्धको राजद्रोह मुद्दा लगाएको १७ जनालाई मुद्दाको पुर्पक्षको लागि धरौटी र सामान्य तारेखमा छाडेको हो । उनीहरुमध्ये तीन जना किशोरी सुनसरीकी १७ वर्षीय हीरा के।सी, सुनसरीकै १७ वर्षीय सविना श्रेष्ठ र जाजरकोटकी १८ वर्षीय रमीता अधिकारीलाई नावालक भएको कारण साधारण तारेखमा रिहा गर्न आदेश गरीएको छ ।
त्यस्तै पार्टीका जिल्ला तहका नेता सिन्धुपाल्चोक बलेफी गापा– ४ का इन्द्रबहादुर ठकुरीलाई २५ हजार रुपैयाँ, र बाँकी अन्य १३ जनालाई जनही छ हजार रुपैंया धरौटी मागिएको जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । धरौटीमा रिहा हुनेमा चितवनका साजन महतो, सिन्धुपाल्चोक बाह्रविसे नपा ८ का रेशम पौडेल, रामेछापका हिरा घिसिङ, काभ्रेका संजिव पहरी, काभ्रेकै अजय श्रेष्ठ, नुवाकोटका गणेश थापा रहेका छन् ।
त्यस्तै इलामका सागर राई, कालिकोटका देउराम लोहार, कालिकोटकै नवराज के।सी।, उदयपुरका शिव विक, कालिकोटका अनिल विक, मकवालपुरकी कल्पना रुम्बा र मकवानपुरकै चन्द्र बहादुर मोक्तानलाई पनि धरौटीमा छाडिएको छ ।
जिल्लामा चन्दा आतंक मच्चाएको, धाकधम्कीको राजनीति अघि बढाएको, अर्धसैन्य संरचना बनाएको आरोपमा संगठन विस्तारको क्रममा चौतारा साँगाचोकगटी नगारपालिकाको कार्कीटारमा एक घरमा सुतिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई राज्यविरुद्धको राजद्रोह अपराधमा मुद्दा दर्ता गरेर २५ दिन हिरासतमा राखी अनुसन्धान गरीएको थियो ।