विप्लव नआउने सभामा, ऋषि कट्टेलदेखि सीपी मैनालीलाई निम्तो पार्टीका नेता घर्ती  सिराहाबाट पक्राउ

८ मंसिर २०७५, शनिबार ०९:५०

काठमाडौं ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो ।

यसअघि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । अन्तिम घडीमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिए पनि कारण खुलाइएको छैन ।विप्लवको अनुपस्थितिमा हुन लागेको सभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्डलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपामा अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रण गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किंराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो । माले महासचिव मैनालीले नेकपाद्वारा आयोजित सभाका लागि निम्तो आएकाले सहभागी हुन लागेको जानकारी दिए ।

जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकाल्ने तयारी छ । लैनचौर, बबरमहललगायतको स्थानबाट निस्कने र्‍यालीलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ । बबरमहलको र्‍यालीलाई पोलिटब्यूरो सदस्य तथा केन्द्रीय जनपरिषदका उपप्रमुख पदम राई, लैनचौरको र्‍यालीलाई केन्द्रीय जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल, कालीमाटीको र्‍यालीलाई गम्भीरलगायतका नेताले नेतृत्व गर्ने जनसभा प्रचारप्रसार उपसमिति संयोजक मिलनले जानकारी दिए ।

उता पार्टीका नेता इन्द्रकुमार घर्ती शुक्रबार सिराहाबाट चन्दा रकमसहित पक्राउ परेका छन्। उनलाइ चन्दा उठाउँदै गर्दा पक्राउ गरेको सिरहाका एसपी जीवन श्रेष्ठले बताए।प्रहरी टोलीले उनलाई ३१ हजार ९ सय रुपैयाँसहित चन्दादाताहरूको नाम तथा रकम उल्लेख भएको डायरीसहित पक्राउ गरेको हो।उनी विप्लव नेकपाका विशेष ब्यूरो कमिटी सदस्य तथा मगर मुक्तमोर्चा नेपालका केन्द्रीय महासचिव समेत हुन्।जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।