विदेश जान चाहिने प्रहरी रिपोर्ट प्रदेशबाटै

२० कार्तिक २०७५, मंगलवार १३:०६

काठमाडौं – विदेश जान चाहिने प्रहरी रिपोर्ट अब विभिन्न केन्द्र र प्रदेशबाटै पाइने भएको छ ।

प्रहरी रिपोर्ट छिटो र सहज रुपमा उपलब्ध गराउन अहिलेलाई विभिन्न केन्द्र प्रदेशबाटै उपलब्ध गराइने त्यसपछी छिट्टै अनलाइन सेवा समेत प्रदान गर्ने तयारी गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौँ उनले भने ‘अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा इमेलबाटै आवेदन लिने इमेलबाटै रिपोर्ट दिने तयारी छ, प्राविधिक तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानिरीक्षक भएसँगै उपत्यकामा प्रहरी रिपोर्ट दिने चार ठाउँ थप गरेका थिए । अहिले काठमाडौँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालिमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा सातै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था छ ।

प्रवक्ता सुवेदीले काठमाडौँ उपत्यकाभित्र भरेको फाराम तीन दिनभित्र, प्रदेश कार्यालयबाट एक हप्तामा र विदेशी नागरिकका लागि एक हप्तामा रिपोर्ट लिन मिल्ने व्यवस्था गरिएको बताए।

प्रहरीले चालू आर्थिक वर्ष २०७५ ७६ को तीन महिनामा ६२ हजार ६८४ जनालाई विदेश जानका लागि आवश्यक प्रहरी रिपोर्ट प्रदान गरेको छ । गएको वर्ष वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए ।