वार्ताको ढोका खुला छः नेता भट्टराई

१५ चैत्र २०७५, शुक्रबार १६:१४

तालेजुङ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पनि समस्या समाधानका लागि सो पार्टीसँग छलफल र सम्वाद भइरहेको बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आयोजित सर्वपक्षीय बैठकमा उहाँले विभिन्न सूत्रका माध्यमबाट सो पार्टीसँग समस्या समाधानका विषयमा छलफल र सम्वाद भइरहेको बताउनु भयो । सरकारले वार्ता, सम्वाद र छलफलका लागि ढोका खुला राखेकाले उहाँले राजनीतिक तवरबाटै समस्या समाधानका लागि सरकार प्रयासरत रहेको स्पष्ट पार्नु भयो ।

संविधानको दायराभित्र रहेर खुलेका कुनै पार्टी वा समूहलाई निगरानी गर्नुपर्ने कारण नरहेकाले उहाँले विप्लव नेतृत्वको पार्टीलाई नभई उसले गरेका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नु भयो ।

प्रतिबन्ध लगाउनुअघि पनि विप्लव समूहसँग पटकपटक वार्ता र छलफल भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउनुपरेको नेता भट्टराईको भनाइ थियो।