लिपुलेकमा बिदेशका सेना हुनु हाम्रो दुर्भाग्य हो नेता खनाल

१८ कार्तिक २०७५, आईतवार ०८:४३

बागलुङ नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली बिशेषता सहितको समाजबाद निर्माणको काम थाल्नुपर्ने बताएका छन्।

नेपालको संविधान २०७२ ले नेपालमा समाजवादको कल्पना गरेको भन्दै खनालले अवको कार्यभार नेपाली बिषेशता सहितको समाजवाद निर्माण भएको बताए। नेकपा बागलुङले आयोाजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई शनिबार बागलुङ बजारमा सम्बोधन गर्दै खनालले संसारका उत्कृष्ट संविधानको सूचिमा रहेको नेपालको संविधानको मुख्य लक्ष्य सामाजवाद निर्माण गर्नु भएको बताए। संविधानले परिकल्पना गरेका नागरिकका हक र अधिकार स्थापित गर्नको लागि संविधानले तोकेका कार्यभार पूरा गर्न सबै नेपालीको दायित्व हुने खनालको भनाई थियो।

देशमा गणतन्त्र स्थापना पछि अव देश लोकतान्त्रिक मुल्य र माान्यता अनुसार चल्ने र लोकतान्त्रिक गाणतन्त्रमा निर्वाचन महत्वपूर्ण पक्ष भएको उनको भनाई थियो। नेपालको निर्वाचन प्रणालि बिस्तारै महँगो हुँदै गएको भन्दै खनालले तत्काल निर्वाचन पद्धतिलाई सुधार नगरे हालको निर्वाचन पद्धतिले धनाड्यहरूको गणतन्त्रमा रुपान्तरण गर्ने बताए। राष्ट्रियताको सवालमा समेत अव आवाज उठाउनुपर्ने बेला आएको भन्दै खनालले देशको सिमाना सुरक्षा र स्वतन्त्रताको विषयमा जागरण ल्याउनुपर्ने बेला आएको बताए।

‘सुगौली सन्धिमा लेखिए बमोजिम महाकाली नदी हाम्रो देशको सिमाना हो तर नदी भन्दा भित्रका सबै भाग नेपालमा छैनन्’ खानलले भने, ‘लिपुलेकमा बिदेशका सेना हुनु हाम्रो दुर्भाग्य हो।’ देशको सिमाना र स्वाभिमानको बिषयमा सवैले मिलेर संघर्ष गर्नुपर्ने उनको भनाई थियो। कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलत्कारपछि हत्याको विषयमा अहिले सम्म पनि सत्य तथ्य पत्ता नलाग्नुमा प्रहरी प्रसासन फितलो भएकै कारण भएको भन्दै उनले राणा र पञ्चायत कालका अवशेषहरू प्रसासनमा रहेका कारण समस्या भएको दावी गरे। नेपालमा रहेका बहुभाषा र बहु संकृतिको संरक्षण तथा रुपान्तरण गर्ने बेला आएको खनालको भनाई थियो।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देशको आर्थिक उन्नति र सामाजिक रुपान्तरणका लागि सबै शक्ति एक भएर लाग्नुपर्ने बताए। कार्यक्रममा नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्मा, नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली लगायतले बोलेका थिए।