लाखौं मूल्यको चामल गोदाममै कुहिँदा पनि सरकार किन मौन छ ?

६ मंसिर २०७६, शुक्रबार १०:०४

काठमाडौं , खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ ।

काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ । तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको छ ।

आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चामल कुहिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । कम्पनीको अध्यक्षसमेत रहेका सचिव अर्यालले चामल कुहिएकोबारे आफूलाई केही जानकारी नभएको गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था छ । नेपाल खाद्य संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिवर्तन भएपछि मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था भएको हो ।

तर, आफू अध्यक्ष भएको कम्पनीको गोदाममा ठूलो परिमाणको चामल कुहिएर सरकारलाई लाखौं रुपैयाँ घाटा हुँदासमेत यसप्रति सचिव अर्यालले कुनै चासो दिएका छैनन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक योगेन्द्र गौचन कम्पनीको महानिर्देशक रहेका थिए । उनले ११ कातिकबाट अवकाश पाइसकेका छन् । हाल कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले कम्पनीको सबै जिम्मेवारी सम्हाल्दै आएका छन् ।

कम्पनीको गोदाममा लाखौंको मूल्यको चामल कुहिनुमा त्यहाँ कार्यरत कर्मचारीको चरम लापरबाही भएको पाइन्छ । यसका साथै सरोकारवाला निकाय वाणिज्य विभागदेखि आपूर्ति मन्त्रालयका सचिव र मन्त्रीसमेत जिम्मेवार रहेको बताइन्छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।