(लकडाउन) भइरहेका बेला बारीमै कुहिँदै तरकारी

३ बैशाख २०७७, बुधबार १४:०६

चितवन, लामो समयमसम्म देशभर बन्दाबन्दी (लकडाउन) भइरहेका बेला यसको ठूलो असर तरकारी उत्पादक किसानलाई परेको छ ।

बेमौसमी तरकारी उत्पादन गरेर आम्दानी गर्ने समयमा बन्दाबन्दीले किसानलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

स्थानीय उत्पादनको उपयुक्त समय भए पनि बजारसम्म तरकारी नपुग्दा उत्पादक किसान लगानी डुब्ने र फलेको सामग्री कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा परेका छन् ।

बजारसम्म तरकारी लैजान नसक्दा बारीमा कुहिने अवस्था रहेको किसान बताउँछन् । तरकारीको माग राम्रै भए पनि बजार हुँदै उपभोक्तामाझ पुग्न नसक्दा यो अवस्था आएको हो । स्थानीय प्रशासनले तरकारी ढुवानी र वितरणमा कडाइ गर्दा आफ्नो तरकारी खेर गएको किसानको गुनासो छ ।