राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

२५ पुष २०७४, मंगलवार ०४:५३

पुस २५, काठमाडौं । निर्वाचन आयोगले २०७४ माघ २४ गते बुधबार सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको आन्तरिक तयारी तीब्र बनाएको स्रोतले जनाएको छ ।

निर्वाचन आयुक्त इश्वरीप्रशाद पौड्यालले निर्वाचनका लागि नियमावली, निर्देशिका निर्माण गर्ने, जनशक्तिको व्यवस्थापन लगायत कार्यको तयारीमा तदारुकताका साथ आयोग जुटेको बताएको जानकारी आजको गोरखापत्रमा छापिएको छ । उनले राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम पनि आयोगले एक÷दुई दिनभित्रै सार्वजनिक गर्ने बताएको छ ।

सातवटै प्रदेशमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति गर्नुपर्ने भएकोले आयोगले न्याय परिषद्सँग परामर्शमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढाएको जनाएको छ । नेपाल सरकारले प्रदेशहरुको अस्थायी राजधानी नतोकेका कारण राष्ट्रियसभा निर्वाचनको मतदानस्थल कहाँ राख्ने भन्ने टुंगो भने लागेको छैन । आयोग स्रोतका अनुसार जहाँजहाँ उच्च अदालत रहेका छन्, तिनै जिल्लामा मतदान गराउने कि भन्ने तयारी गरिए पनि कुनै टुंगो लागेको छैन ।

आयोगले सोमबार निर्वाचनको मतदान र मतगणना कसरी गर्न सकिन्छ भनेर प्रारम्भिक चरणमा मतदान र मतगणना कार्यमा आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, सचिव वेगेन्दराज शर्मा पौडेल तथा आयोगका अन्य उच्चपदस्थ कर्मचारी समेत सहभागी रहेको थियो । –गोरखापत्र