राष्ट्रपति भण्डारी आज युएईतर्फ प्रस्थान

२७ कार्तिक २०७४, सोमबार ०१:३१

कात्तिक २७, काठमाडौँ । नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने त्यस मुलुकको भ्रमणले गरिने भएको छ ।


राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायव सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा औपचारिक भ्रमणका क्रममा कात्तिक २७ गते सोमबार त्यसतर्फ प्रस्थान हुने भएको छ । नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् र नेपालले सन् २००४ अप्रिल ११ मा अबुधावीमा कार्यवाहक राजदूत स्तरमा आवासीय दूतावास स्थापना गरेको हो । यस उक्त दूतावासलाई सन् २००७ डिसेम्बर ११ मा राजदूतावासमा परिवर्तन गरियो । युएईले पनि सन् २०१६ को मे १० मा नेपालमा आवासीय नियोग स्थापना गरेको हो ।  दुबै मुलुक संयुक्त राष्ट्र संघ तथा असंलग्न आन्दोलनका सदस्य भएको र अन्तर्राष्ट्रिय मामिलामा दुवैले समान धारणा व्यक्त गरिरहेको अवस्थामा दुई मुलुकबीच आपसी सद्भावना तथा सहयोगमा आधारित हार्दिक तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको देखिन्छ ।

 

सन् १९७१ डिसेम्बर २ मा सात इमिरेट्सको सङ्घको रूपमा संयुक्त अरब इमिरेट्स स्थापना भएको हो । यो एक पेट्रोल निर्यातक मुलुक हो र यसको राजस्वको प्रमुख भाग यसैमा आधारित छ । दुबई यस मुलुकको सबैभन्दा ठूलो नगर हो ।  यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेट्सको भ्रमणमा पनि जानुहुनेछ । परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार राष्ट्रपति र युवराजबीचका बैठक एवम् छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछ । युएईमा दुई लाखभन्दा बढी नेपाली कामदार रहेको बताइन्छ । नेपाली कामदारका लागि पछिल्लो समय यो एक राम्रो गन्तव्य स्थलका रूपमा विकसित हुँदै गएको छ । उनले युएईमा सीपयुक्त र पेसागत नेपाली श्रमिकको सङ्ख्या अधिक रहेको र आयकर नलाग्ने क्षेत्रमा नेपालीहरूले राम्रै लगानी गरिरहेको बताए ।   युएईमा भारतीय, पाकिस्तानी, फिलिपिनो तथा श्रीलङ्काली श्रमिकको सङ्ख्या पनि निकै ठूलो छ । बेलायती नागरिककै सङ्ख्या पनि युएईमा एक लाखभन्दा बढी रहेको अनुमान छ ।   परराष्ट्र मन्त्रालयमा राजनीतिक सम्बन्ध हेर्ने सहसचिव तीर्थराज वाग्ले युएईलाई आधुनिक, खोजमूलक तथा निर्माण कार्यले गति लिइरहेको क्षेत्रको रूपमा लिईन्छ । यस मुलुकको विकास तथा निर्माणको प्रक्रियामा नेपाली श्रमिकको ठूलो योगदान रहेको उनको कथन छ ।

 

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा उनकी छोरी निशाकुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवम् परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधिहरू रहनेछन् ।

नेपाल तथा युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वर्ष पुगेको सुखद अवसरमा यस भ्रमणले यी दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने धारणा राष्ट्रपतिका सञ्चार सल्लाहकार माधव शर्मा व्यक्त गरे । उनले यस भ्रमणबाट दुई मुलुकबीच श्रम, सीप तथा लगानीको क्षेत्र विस्तार गर्न निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्किनेछ ।