राप्ती अञ्चल अस्पतालमा दक्ष जनशक्ति र उपकरणको अभाव, सेवाग्रहीलाई सास्ती

२३ श्रावण २०७५, बुधबार १४:५८

साउन २३, काठमाडौं ।

१० वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ ।

लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् । अस्पताल रिफर सेन्टर मात्रै बनेको नागरिकले गुनासो गरेका छन् ।

‘अस्पताल छ, डाक्टर छैनन्,’ स्वास्थ्य उपचार गराउन आएकी तुलसीपुर उपमहानगरपालिका–६ कि राधा पाण्डेयले भनिन्, ‘कर्मचारीले घोराही अस्पताल जान सल्लाह दिएका छन् ।’

यहाँ उपचार गराउन आउने अधिकांश बिरामीले यस्तै गुनासो गर्ने गरेका छन् ।

उक्त अस्पतालमा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । हाल यहाँ पाँच चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रुपमा कार्यरत डा भोला श्रेष्ठ डेढ वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले निमित्तको रुपमा काम गर्दै आएका छन् ।

‘अस्पतालमा दक्ष जनशक्ति र उपकरणको अभाव छ, आइसीयु सेवा सञ्चालन गर्न सकिएको छैन,’ अस्पतालका प्रशासन अधिकृत निमबहादुर केसीले भने ।

अस्पतालमा हाल कूल ७४ जनाको दरबन्दी रहेपनि ५६ कर्मचारी मात्र कार्यरत छन् । सबैभन्दा बढी समस्यामा सर्पदंशका बिरामी पर्ने गरेका छन् । उनीहरुको उपचार गर्न आवश्यक भेन्टिलेटरको अभाव छ । रिफर गर्दा बाटोमै ज्यान जाने गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सिंह पर्याप्त जनशक्ति, उपकरण र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको बताउँछन् । उनले भने, ‘एनआइसीयु सञ्चालनका लागि सामग्री आएको छ, दक्ष जनशक्तिका कारण सेवा दिन सकेका छैनौं ।’

२०६५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा रहेको उक्त अस्पतालको स्तरवृद्धि गरी राप्ती अञ्चल अस्पताल बनाइएको हो । सो क्षेत्रका नागरिकले महापुराण लगाएर संकलन गरेको रु दुई करोड तथा पाँच बिघा जग्गा अञ्चल अस्पताललाई हस्तान्तरण गरेका थिए ।

यहाँ प्रदेश नं ५ का दाङ, रुकुम, रोल्पा तथा कर्णाली प्रदेशको सल्यान, जाजरकोटलगायत जिल्लाबाट बिरामी उचित उपचार पाउन नसकेपछि बाँकेको कोहलपुर, बुटवल, काठमाडौँ तथा भारत जाने गरेका छन् ।