राजपा सर्तसहित सरकारमा सहभागी हुने संकेत

११ पुष २०७६, शुक्रबार १०:११

काठमाडौं, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् ।

सोही कोसिसअनुसार प्रधानमन्त्री ओलीले राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलगायत सो दलका अन्य नेताहरुसँग समेत औपचारिक र अनौपचारिक छलफल थालेका छन् ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महतोले समेत पार्टी संघीय सरकारमा सहभागी हुन सक्ने संकेत गरेका छन् । तर, उनले यसका लागि सरकार संविधान संशोधनसहित आफूहरुका अन्य माग पूरा गर्न सहमत हुनुपर्ने सर्त राखेका छन् ।

संयोजक महतोले पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको सहयोग गर्न सकिने बताए । उनका अनुसार संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा लागेकाहरुको झुटा मुद्दा फिर्तालगायत माग राजपाले उठाउँदै आएको छ । सरकार यी माग सम्बोधन गर्न तयार भएको खण्डमा राजपा पनि सरकारमा सहभागी भई सरकारलाई सहयोग गर्ने उनले बताए ।

‘वेट एन्ड वाच । हेरौं, सरकारले कस्तो व्यवहार गर्छ रु सरकारले सकारात्मक व्यवहार गरे हामी पनि सरकारमा जान सक्छौं,’ महतोले भने, ‘सरकारले जस्तो व्यवहार गर्छ, हामी पनि त्यसरी नै व्यवहार गर्छौं । तर, उधारो सहमति गरिँदैन ।’

सरकारसँगको सम्बन्ध राम्रो हुँदै गएको बताउँदै उनले सरकारलाई चाहिने हरेक किसिमको सहयोग गर्न राजपा तयार रहेको बताए । तर, राजपाले उठाउँदै आएको माग सम्बोधन नभए पार्टी सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे ।

राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएमा पार्टीले पनि सोहीअनुसार सहयोग गर्दै अगाडि बढ्न सक्ने उनले बताए । संविधान संशोधनका लागि समेत दुई तिहाइ आवश्यक रहेकाले एकले अर्कोलाई सहयोग गर्दै अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।(आजको राजधानी दैनिकबाट)