रविसहित तीन जनालाई पाँच वर्ष कैद माग्दै मुद्दा दायर

८ भाद्र २०७६, आईतवार १८:२६

काठमाडौं, रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता भएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको हो ।

सरकारी वकिलका तर्फबाट लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ ।

चितवन प्रहरीले आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अभियोग पत्रमा जिल्ला सरकारी वकिलको कार्यालयले अडियो, भिडियो र केही कागजातसहितका प्रमाण राखेर मुद्दा दायर गरेको बताइएको छ । न्यायाधीश हेमन्त रावलको इजलाशमा अस्मिताको बयान सकिएको छ ।

अन्य दुई जनाको बयान नसकिँदा थुनछेक बहस गर्न समय अपुग भएकाले तीनैजना आज पनि हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत चितवनका अनुसार रवि लामिछाने र युवराज कँडेलको बयानपछि समय रहे भोलि नै थुनछेकको बहस सकेर इजलाशले अभियुक्तहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा साधारण तारेखमा छोड्ने आदेश गर्नेछ ।