यीनै हुन् हिरासतमा रहेकाहरुलाई कुट्न निर्देशन दिने सिडिओ

१७ श्रावण २०७६, शुक्रबार १०:५९

खोटाङ, माथि उभिएको तस्बिरमा देखिएका व्यक्ति हुन् खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यय । लोकसेवा आयोगको विज्ञापन विरुद्धको आन्दोलनको क्रममा प्रश्नपत्र च्यातेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेको खोटाङका रविन खम्बू, एलबी मगर लगायतलाई उपाध्ययकै ठाडो निर्देशनमा बन्दुकको दबासले मरणासन्न हुने गरी कुटिएको थियो ।

उदयपुर घर भएका उपाध्ययको तस्बिर आदिवासी जनजाति महासंघ खोटाङका सचिव समेत रहेका खम्बूले भर्खर मात्रै आफ्नो फेसबुक वालमा राखेका छन् । र उनले भनेका छन्, ‘लोकसेवा आयोगको विज्ञापन विरुद्धको आन्दोलनमा साउन ४ गते हामीलाई निर्मम रुपमा कुटपिट गर्ने ठाडो आदेश दिने सिडिओ विष्णुहरि उपाध्यायको फोटो सार्वजनिक गर्न धेरै साथीहरु, शुभचिन्तकहरुबाट अनुरोध गरेपछि आज सार्वजनिक गरेको छु । हाम्रो आन्दोलन जारी छ, हामी न त थाक्नेछौ न त हार्नेछौ ।’

समाजवादी पार्टीका युवा नेता समेत रहेका खम्बूलाई उपाध्ययकै निर्देशनमा हतकडी लगाइएकै अबस्थामा निर्मम कुटपिट गरिएको थियो ।

खम्बूले आफूहरुलाई यातना दिएको तस्बिर सार्वजनिक गरेपछि सिडिओ उपाध्याय को हुन् भन्ने जिज्ञासा गरिएको थियो ।
खम्बूले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष आफूहरुमाथि दिइएको यातानाविरुद्ध उजुरी हाल्ने बताए ।

‘हामीलाई चरम् यातना दिने सिडिओ उपाध्ययविरुद्ध अदालती प्रक्रियामा पनि जानेबारे परामर्श भइरहेको छ,’ सार्वजनिकसँग खम्बूले भने, ‘हामीमाथिको निर्मम कुटपिटको बदलामा मुद्दा हाल्ने तयारी गरेका छौ ।’ स्रोत सार्वजनिक डटकमबाट