यातायात मन्त्रीले गरे २९ किलोमिटर रेल यात्रा

३१ आश्विन २०७५, बुधबार ०९:१६

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

मङ्गलबार भारतको जयनगर पुगेका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको  सरकारबीचको सम्बन्ध सुमधुर भएको बताए ।

मन्त्री महासेठले यसका अतिरिक्त भारत सरकारको सहयोगमा निजगढ–काठमाडौँ रेलमार्गसँगै हुलाकी राजमार्गलगायतका अनेकौँ योजनामा काम भइरहेको बताए ।

मन्त्री महासेठसँगै रेल विभागका डीजी बलराम मिश्र, भारतीय निर्माण कम्पनी एरकोनका प्रमुख रवि सहाय, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली रेलमार्गबाट जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको यात्रा गरेका थिए।