यसपालिको एसइई परीक्षा कठिन बन्दै

२७ पुष २०७४, बिहीबार ०३:३५

पुस २७, काठमाडौं । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

उच्चस्तरीय शिक्षा आयोगको बुधबारको बैठकमा आयोग सदस्य तथा बोर्डका अध्यक्ष पौडेलले अहिले जिल्ला शिक्षा कार्यालयले एसइइको ९५ प्रतिशत काम सकेको बताए । जिशिका नहुने भएपछि यसको संक्रमणकालिन ब्यवस्था नभएमा नतिजाका लागि विश्वविद्यालयमा जस्तै महिनौँ पर्खिनु पर्ने अवस्था आउने चिन्ता ब्यक्त गरे । उनले भने, ‘चैत ८ देखि हुने एसइइ परीक्षा त राम्रोसंँगै सम्पन्न होला, परीक्षा सकेपछि जिशिका रहँदैन, त्यसपछि उत्तर पुस्तीका कहाँ, कसले परीक्षण गर्ने भन्ने लगायतका गम्भीर समस्या उत्पन्न हुने छन् ।’