मुख्यमन्त्री पौडेलविरुद्ध खनिए राजेन्द्र पाण्डे : प्रदेशसभा ३

१४ फाल्गुन २०७४, सोमबार ११:११

फागुन १४, काठमाडौं ।

प्रदेशसभा ३ मा सत्तारुढ नेकपा एमालेकै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

सोमबारको संसद बैठकपछि सांसद राजेन्द्र पाण्डेले पत्रकारहरुसँग सरकार नीति निर्माणतिर नलागी अनावश्यक अनुगमन र निर्देशनको काम गर्दै हिँडिरहेको आरोप लगाए । भने, ‘मैले सकारात्मक सुझाव दिएको हुँ ।’

मुख्यमन्त्री नियुक्त भएसँगै पौडेलले नारायणगढ-काठमाडौं सडकमार्गको अनुगमन गरेका थिए भने विभिन्न जिल्लामा गई निर्देशनहरु दिएका थिए । सोही विषयलाई सांसद पाण्डेले असन्तुष्टी जनाएका हुन् ।

सांसद पाण्डेले मुख्यमन्त्री पौडेल ऐन कानुन बनाएर सरकारी कामलाई सहज बनाउँदै जानुपर्नेमा अनुगमन र निर्देशन गर्दै हिाड्नु उपयुक्त नभएको बताए ।

नेकपा एमाले प्रदेश ३ प्रदेश कमिटी संयोजक एवं उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र सरकारको कामबारे प्रश्न उठाउनेबारे छलफल नभएको बताइन् ।

पाण्डेले गरेको आलोचनाबारे शाक्यले भनिन् ‘उहाँले संसद सञ्चालन नियमावली चाँडै तयार गरी प्रदेश सरकार जनताको भावना अनुसार चल्ने वातावरण बनाउनुपर्छ भन्ने आशयले सरकारलाई सुझाव दिनुभएको होला ।’

सोमबार संसदले प्रदेश सभा सञ्चालन नियमावली पारित गरेसँगै आलोचनाको विषय सकिएको शाक्यले बताइन् ।

पाण्डेको आलोचनाप्रति मुख्यमन्त्री पौडेलले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।