महराको नेतृत्वमा काठमाडौं मलका व्यापारीले घेरे सञ्चय कोष

१ चैत्र २०७५, शुक्रबार १४:५८

काठमाडौं , काठमाडौं मलमा व्यापार गर्दै आएका व्यापारी आन्दोलित भएका छन् । सञ्चय कोषले तीन महिनादेखि त्यहाँ व्यापार गर्दै आएका व्यवसायीसँग सम्झौता नगरी हटाउन खोजेको भन्दै शुक्रबार सञ्चय कोष ललितपुरमा रहेको भवनमा घेराउ गरेका हुन् ।काठमाडौं मल व्यापार सङ्घका अध्यक्ष सुष्मा महराको नेतृत्वमा आन्दोलित व्यापारीले ‘व्यापारीलाई गरी खान दे, चोर ठेकदार चाहिँदैन, वैधानिक भाडादर कायम गर, घुस खान पाइँदैन’लगायत नारा लगाएका छन् ।कोषले काठमाडौं मललाई खाली गर्न सूचना निकालेपछि व्यवसायी आन्दोलित छन् । काठमाडौं मलमा व्यापार गर्दै आएका तीन सय व्यापारी र चार हजारको रोजगारी खोस्ने प्रयास गरेको व्यापारीको आरोप छ ।
मल व्यापार सङ्घले त्यहाँको समस्या समाधानमा पहल गरिदिन आग्रह गर्दै यसअघि सभामुख कृष्णबहादुर महरालाई पनि ध्यानाकर्षणपत्र बुझाएको थियो । मलमा व्यवसाय गर्दै आएका व्यापारीले अहिलेसम्म सञ्चय कोषलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भाडा दिएको दाबी गरे । सञ्चय कोषले स्पष्ट नीति नलिँदा आफू अन्योलमा परेको व्यवसायीको गुनासो छ । सञ्चय कोष आफैले व्यवस्थापन समाल्न थालेपछि ठाउँ खाली गर्न सूचना निकालेर गैरजिम्मेवारी प्रस्तुत गरेको आरोप लगाए । व्यवसायीले भाडादर कायम गरेर सम्झौता गर्नुपर्ने, मलमा भएका विद्युतीय भ¥याङ तथा अन्य उपकरण मर्मत गर्नुपर्ने, भवनको मर्मत, रङरोगन, सरसफाइ गर्नुपर्ने, वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग राखेका छन् ।