मन्त्रालयहरुको संख्या घटाएर १७ मा झारे, मन्त्री लालबाबु पण्डित आफ्नै मन्त्रालयबारे अन्योलमा

११ फाल्गुन २०७४, शुक्रबार ०८:५५

फागुन ११, काठमाडौं ।

शुक्रवारको मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ मा झारे लगत्तै अनलाइनखबरको पत्रकारले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलाई प्रश्न-अब तपाईलाई हामीले कुन मन्त्री भनेर लेख्ने ? एमाले र माओवादीबीच बाँडफाँट भएका भनिएका मन्त्रालयको संख्यामा जनसंख्या तथा वातावरण मन्त्रालयको अलग अस्तित्व छैन ।


फोन सम्पर्कमा आएका पण्डितले भने-खोइ अहिले कुन मन्त्रालय भन्ने ? “अहिले टुंगिएकै छैन । मन्त्रालयको संख्या १७ मा झारिएको छ, अरु मिलाउनै बाँकी छ । मेरो जनसंख्या मन्त्रालय चाहिँ स्वास्थ्य मन्त्रालयमा गाभिएको छ । तर, उनै मन्त्री रहेको आधा भाग वातावरण भने वनमा गाभिएको छ ।”

मन्त्रालयका सचिवहरु समेत आफ्नो कार्यालय कता गाभियो भन्ने अन्यौलमै छन् । मन्त्रालयको संख्या घटेसँगै अब नेपाल सरकारका कम्तिमा एक दर्जन सचिव जिम्मेवारीविहीन हुनेछन् । उनीहरुलाई फाजिलमा राख्ने कि एउटै मन्त्रालयमा दुई सचिव राखेर तत्कालको व्यवस्थापन गर्ने भन्ने टुंगोमा सरकार पुगेको छैन ।

  • कुन-कुन मन्त्रालय गाभिए कुन-कुन यथावत रहे ?

सरकारले यसअघि कायम रहेका ३१ मन्त्रालयको संख्या घटाएर १७ कायम गरेसँगै केही मन्त्रालयको अस्तित्वनै समाप्त भएको छ भने केही अर्कैमा गाभिएका छन् । संविधानले २५ सदस्यीयभन्दा ठूलो मन्त्रिपरिषद बनाउन नपाइने भनेकाले वामपन्थी सरकारले मन्त्रालयको संख्या करिब आधा घटाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित १७ मन्त्रालय कायम गरेको छ । यसअघिका सात मन्त्रालय यथावत राखेको छ । अन्य २४ मन्त्रालयमध्ये केहीलाई गाभिएको छ भने केही खारेजीमै परेका छन् ।

कामको प्रकृतिअनुसार केही मन्त्रालय यथावत रहेका छन् । गृह, रक्षा र परराष्ट्र मन्त्रालय यथावत रहेका छन् । त्यस्तै भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पनि यथावत राखिएको छ ।

अर्थ मन्त्रालयमा योजना समेत थपेर अर्थ तथा योजना मन्त्रालय बनाइएको छ । अर्थमै योजना थपिएपछि सम्भवतः अब राष्ट्रिय योजना आयोग नरहन सक्छ । त्यस्तै पर्यटन मन्त्रालय पनि यथावत रहेको छ ।

यसअघि अलग अलग रहेका धेरै मन्त्रालय भने कामको प्रकृतिका आधारमा गभिएका छन् । सामान्य प्रशासन मन्त्रालयमा संघीय मामिला थपेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कामम गरिएको थियो । यसअघि कायम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय थियो ।

त्यस्तै शिक्षा मन्त्रालय अझ ठूलो बनेको छ । खेलकुद तथा विज्ञान तथा प्रबिधिलाई पनि शिक्षामै गाभिएको छ । जलस्रोत र ऊर्जा मन्त्रालय गाभेर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाइएको छ । स्वास्थ्य मन्त्रालयमा जनसंख्या थपेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कायम गरिएको छ ।

त्यसैगरी शहरी विकासमा खानेपानी तथा सरसफाई समेत गाभेर शहरी विकास, आवास,खानेपानी तथा सरसफाई मन्त्रालय कायम गरिएको छ । वन र वातावरण मन्त्रालय मिलाएर वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ ।

त्यस्तै कृषी, सहकारी तथा भूमि व्यवस्थापन भनेर नयाँ संरचना खडा गरिएको छ । श्रम तथा रोजगार र महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयलाई गाभेर एउटै बनाइएको छ । उद्योग, वाणिज्य र आपूर्ति तीन अलग मन्त्रालय गाभेर एउटै बनाइएको छ ।

 

 

 

स्रोत : अनलाइनखबर