भारत र कुवेतमा रहेका नेपाली कामदार बिचल्लीमा परेको भन्दै सरकारको ध्यानाकर्षण

२१ बैशाख २०७७, आईतवार १६:३४

काठमाडौं , राष्ट्रिय जनमोर्चाले भारत र कुवेतमा रहेका नेपालीहरूका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गरेर भारत र कुवेतमा रहेका नेपाली कामदार बिचल्लीमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

उहाँले भारत र कुवेतमा रहेका नेपालीको समस्यालाई गम्भीरतापूर्वक लिएर दीर्घकालीन योजना बनाउन सरकारसँग विज्ञप्तिमा मार्फत माग गर्नु भएको छ ।

प्रेस विज्ञप्ति
भारत तथा कुवेतस्थित नेपालीहरूको समस्याप्रति राष्ट्रिय जनमोर्चाले सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छ । भारत सरकारले विभिन्न राज्यहरूमा अलपत्र परेर बसेका भारतीयहरूलाई आफ्नो आफ्नो राज्यमा पुर्‍याउने व्यवस्था गर्न थालेको छ ।

त्यही प्रकारले असंगठित र अनौपचारिक क्षेत्रमा काम गरेका नेपालीहरूलाई पनि अब खान बस्न कुनै व्यवस्था नगर्ने र यातायातका साधनहरूको व्यवस्था गरी नेपालको सीमामा पुर्‍याउने सूचना दिएको छ ।
कुवेतमा अवैध रूपमा बसेका नेपालीहरूलाई त्यहाँको सरकारले वैधानिक कागज पत्र बनाउनका लागि समय दिएको छ र अब उनीहरूलाई एउटा क्याम्पमा राखेको छ । उनीहरूलाई खान पिउनको पनि व्यवस्था गरिएको छ ।

उनीहरूको संख्या करिब पाँच हजारभन्दा बढी छ । कोरोना भाइरस वा लकडाउन सामान्य भएपछि त्यहाँको सरकारले सरकारी खर्चमा नै नेपाल पठाउने सूचना दिएको छ । अहिले तत्काल नभए पनि ढिलो छिटो उनीहरूलाई नेपाल ल्याउनुको कुनै विकल्प छैन ।

उपयुक्त प्रकारको पृष्ठभूमिमा भारत वा कुवेतका नेपालीको समस्याबारे सरकारले गम्भीर रूपले विचार गर्नुपर्ने आवश्यकता छ । कुवेतको समस्या तकात्कालिक समस्या होइन र लकडाउन खुलेपछि नै त्यसबारे आवश्यक विचार गर्न सकिनेछ ।

तर, भारतको समस्या तात्कालीन दृष्टिकोणले नै अत्यन्त गम्भीर बनेको छ । त्यहाँको सरकारले उनीहरूको खानपिनको समेत व्यवस्था नगरेको हुनाले उनीहरूका अगाडि भोकमरीको समस्या उत्पन्न भएको छ र त्यसकारण सरकारले त्यसबारे तुरुन्त ध्यान दिनु आवश्यक भएको छ ।

सरकारले या त भारत सरकारसित उच्च कूटनीतिक सम्पर्क गरेर विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार उनीहरूलाई बसेकै ठाउँमा खानपिन समेतको व्यवस्था गर्न लगाउनु पर्दछ । त्यसो हुन नसकेमा ती नेपालीहरूको उद्धार गरी नेपालमा ल्याउनु पर्छ । यस प्रकारको जिम्मेवारीबाट सरकार बच्न सक्दैन र बच्न हुँदैन भन्ने हाम्रो दृढ मत छ ।

अहिले भारत वा कुवेतमा जुन प्रकारको समस्या उत्पन्न भएको छ, ढिलो छिटो अन्य देशहरूमा पनि देखापर्न सक्छ । त्यसकारण त्यो समस्याबारे गम्भीरतापूर्वक र दीर्घकालीन प्रकारको योजना बनाएर काम गर्नका लागि पनि हामीले सरकारसित माग गर्दछौँ ।

अन्तमा उक्त विषयमा, खास गरेर भारतस्थित नेपालीहरूका समस्यालाई लिएर हामीले प्रधानमन्त्रीसित सम्पर्क राख्ने वा भेट्ने समेत कोसिस गरिरहेका छौं । भारतस्थित नेपालीको ठूलो संख्यामाथि विचार गर्दा उनीहरूलाई तुरुन्त नेपालमा ल्याएर व्यवस्थापन गर्नु पनि सजिलो छैन ।

तर विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार भारत सरकार वा विभिन्न राज्य सरकारहरूले त्यो जिम्मेवारी पूरा नगरेमा वा उनीहरूद्वारा नेपालीहरूको त्यसप्रकारको व्यवस्था हुन नसकेमा नेपाल सरकारले नै त्यो समस्यालाई समाधान गर्न कदम उठाउनुबाहेक अर्को कुनै उपाय छैन र त्यसबारे हामी पुनः सरकारको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौं ।

चित्रबहादुर केसी
अध्यक्ष
राष्ट्रिय जनमोर्चा