भारत तत्काल वार्ताका लागि तयार हुनुपर्छः परराष्ट्र मन्त्री ज्ञवाली

२९ बैशाख २०७७, सोमबार १६:४०

काठमाडौं , परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूमिमा भएको अतिक्रमणबारेमा अब भारतले भने जस्तो वार्ताका लागि लामो समय कुर्न नसकिने बताउनु भएको छ । संघीय संसदको अन्तर्राष्ट्रिय समितिको सोमबार बसेको बैठकमा बोल्दै ज्ञवालीले यस्तो बताउनु भएको हो । मन्त्री ज्ञवालीले अहिलेको समस्याको समाधानका लागि सबै दलहरु एकै ठाउँ भएको बताउनु भयो । यस्ता घटनाहरूले दुई देशको सम्बन्धमा असहजता आउन सक्ने उहाँले बताउनु भयो । इतिहासले गरेका गल्तीले अहिलेको घाउ बल्झिरहेको उहाँले बताउनु भयो । यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेर भन्दा द्विपक्षीय वार्ताबाटै समाधान गर्न सकिने उहाँले बताउनु भयो ।