भाटभटेनीमा वैशाख महिना बिशेष छुट

१४ बैशाख २०७५, शुक्रबार ०७:०८

वैशाख १४, काठमाडौ ।

विराटनगरमा नयाँ वर्षदेखि संचालनमा आएको भाटभटेनी सुपर स्टोरले दैनिक एक करोडको कारोबार गरिरहेको छ ।

भाटभटेनी संचालनमा आएपछि उपभोक्ताको भीड कम भएको छैन । कम्पनीले वैशाख महिनाभरिनै १० प्रतिशत छुट दिइरहेको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ग्राहकको उत्साहलाई सम्मान गर्दै वैशाख महिनाभरि १० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिए ।‘हामीले पहिलो सात दिन मात्रै छुट दिने सोचाइ बनाएका थियौँ’, सञ्चालक गुरुङले भने, ‘तर ग्राहकको आकर्षण र उत्साह सम्मानयोग्य छ । हामीले यस्तो सोचेका थिएनौँ । त्यसैले महिनाभरि नै छुटको स्किम ल्याएका हौँ ।’

नयाँ वर्षको आगमनसँगै विराटनगरमा एक लाख २५ हजार प्रकारका सामग्रीसहित सात तले भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको छ । उक्त सुपर स्टोर भाटभटेनीको १५ औँ शाखा हो । विराटनगरमा पूर्णतः वातावरण अनुकूलित सुपर मार्केटको अवलोकन गर्ने र त्यहाँ वस्तु खरिद गर्न जानेको अझै घुइँचो छ ।

बिल तिर्न २० मिनटमा लाइन लाग्नु परेको स्थानीय गृहिणी नीलिमा शर्मा कोइरालाले बताइन् । खुलेको पहिलो दिन थाम्नै नसक्ने भिडका कारण ३ घण्टामै बन्द गरिएको भाटभटेनीले ८१ लाखको कारोबार गरेको थियो । वैशाख २ गते १ करोड ४३ लाखको र त्यस पछि दैनिक ९० लाखदेखि १ करोड सम्मको कारोबार भइरहेको गुरुङले बताए ।

उनले साढे ८ कट्ठा जमिन र १ लाख ४५ हजार वर्गफिट भवनका लागि ६० करोड खर्च गरिएको र ४० करोड मूल्यका १ लाख २५ हजार प्रकारका सामग्रीहरू यहाँ राखिएको उल्लेख गरे ।विराटनगरमा लिफ्ट र एस्किलेटरसहितको सुपर मार्केट भाटभटेनी नै पहिलो भएको छ ।

बेसमेन्टको स्थान पार्किङ र कार्यालयका लागि छुट्याइएको छ । सुपर मार्केटले सबैभन्दा बढी ग्रोसरी (खाद्यान्न) विक्री गरिरहेको छ । ग्रोसरीपछि क्रमशः तयारी कपडा (गार्मेन्ट), भान्साका सामग्री (किचनवेयर), जुत्ताचप्पल (फुटवेयर) र इलेक्ट्रोनिक सामग्रीको विक्री भइरहेको उनले स्पष्ट पारे ।