बुटवलको ६० वर्षे यात्रा : बटौलीदेखि बुटवलसम्म

३ फाल्गुन २०७६, शनिबार २१:५९

बुटवल-विगतमा चुरेपहाड नजिक तिनाउ नदीको दायाँ किनारमा सानो बजारको रुपमा बटौली रहेको थियो । अहिले बुटवल उपमहनगरपालिका वडा नम्बर १ र २ रहेको क्षेत्र त्यसबेलाको बटौली बजार हो । बटौली बजारमा पहाडी जिल्लाहरुबाट किनमेल गर्न आउँथे । पहाडबाट आउनेले घिउ लिएर आउँथे । पहाडबाट ल्याएको घिउ यहाँका व्यापारीलाई बेचेर नुन, तेल कपडा लगायतका सामान किनेर लैजान्थे । बटौलीमा पहाडबाट आएको घिउ भारतको बनारस, कलकत्ता लगायतका शहरमा पुग्दथ्यो । माथिल्लो पुलको गणेशथानदेखी जितगढी सम्म बटौली बजार थियो । कात्तिकदेखि फागुनसम्म बटौलीबजारमा भिड लाग्दथ्यो ।

सामान लिएर आएका गधा, खच्चरका साथै मधेशमा चल्ने लडीयाको ताँती नै हुन्थ्यो । खस्यौली भनिने अहिलेको मुख्य बजारतर्फ भने बस्तीहरु थिएन । विपिचोक, अमरपथ क्षेत्र तिर केही टहराहरु थिए । जहाँ भारतबाट आएका लाहुरेहरु आउँदा बास बस्थे । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो । पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगरपञ्चायत भन्न थालियो । २०४६ साल पछि बुटवल नगरपालिका उल्लेख भयो । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नती भएको हो । अहिले यो पश्चिम नेपालकै प्रमख शहर हो । मुलुकको नयाँ संघिय संरचना बनेपछि बुटवल पाँच नम्बर प्रदेशको राजधानी पनि भएको छ ।

मुन्निलालदेखि शिवलालसम्मको नेतृत्व
तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरे । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार–पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६ –२०३९) प्रधानपञ्च भए । प्रजानन्त्र पुनस्थापना पछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख भए । सूर्यबहादुर थापा सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरे । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनावबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बनेपनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो ।
१५ वर्ष जनप्रतिनिधि विहीन भएको हालको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी मेयर र गोमादेवी आचार्य उपमेर भएका छन् ।


बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म
विगतमा अहिलेको मुख्य बजार भन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सर्यो ।
खस्यौलीमा पूर्वाधारहरु थापिदैँ गएपछि बजारले बुटवल शहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो । पछिल्लो समय बुटवल मुलुकको महत्वपूर्ण अनि पूर्वाधारयुक्त शहरको रुपमा स्थापित भएको छ । ६ लेनका फराकिला सडक, निर्माणाधिन अन्तराष्टिय सम्मेलन केन्द्रले बुटवलको प्रतिष्ठा बदल्दै छ । देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ ।

बुटवलका ३ खण्ड

भूगोल र विकासक्रमका आधारमा बुटवललाई ३ खण्डमा यसरी छुट्याएर हेर्न सकिन्छ ।
पूरानो बजार अर्थात बटौली क्षेत्र
हाम्रा बाबुबाजेले विगतमा बजार गर्न आउने ठाउँ हो पुरानो बुटवल अहिले यो १ र २ नम्बर वडामा पर्दछ । अझै पनि पुरानो बुटवलमा थुपै पुराना र ऐतिहासिक घरहरु छन् । ति घरहरु जीर्ण देखिन्छन् । ऐतिहासिक र पुरातात्विक स्थान भएकाले यो ठाउँलाई बुटवलको पर्यटकीय केन्द्रको रुपमा विकास पनि गर्न सकिन्छ । तिनाउपारी केही उचाइमा मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्क छ । तिनाउ पुलकै सामुन्ने नेपालले अंग्रजलाई पराजित गरेको स्थान जितगढी छ । यी दुई ठाउँ बाहेक सिंगो बटौली क्षेत्रलाई खुल्ला संग्रालयको रुपमा विकास गर्न सकिन्छ । तर यस तर्फ स्थानीय चुनाबपछि आएको जनप्रतिनिधिबाट हुनपर्ने जति पहल भएको छैन । पुराना घरलाई त्यही रुपमा जोगाएर व्यवस्थित गर्ने हो भने बटौलीको पहिचान कायम गर्न सकिन्छ । तर दिन प्रतिदिन बनिरहेका नयाँ घरका कारण बटौलीको पहिचान मासिने खतरा छ । बुटवलका स्थापित व्यवसायीका अभैm पनि पुराना घरहरु छन् । तर उनीहरु त्यहाँ बस्दैनन् ।

मुख्य व्यापारिक क्षेत्र
२०२० पछि पारी बटौलीमा रहेको बजार वारी खस्यौलीमा आयो । अमरपथ राममन्दीरलाईन वारीका सुरुका बजार क्षेत्र हुन् । अहिले गोलपार्कदेखि योगीकुटीसम्म अर्थात बुटवलको ३ देखि ११ सम्मका वडा बुटवलको मुख्य व्यापारिक क्षेत्र अन्तर्गत पर्दछ । यो ठाउँमा घना बस्ती छ । त्यसमध्ये बुटवल ११ सबै भन्दा बढी जनसंख्या भएको वडा पनि हो । यस वडामा सुकुम्बासी तथा अव्यस्थित बसोबासको समस्या पनि उत्तिकै रहेको छ । बसपार्क, क्याम्पस, अस्पताल, प्रदेश स्तरीय विभिन्न कार्यालय लगायतका पूर्वाधारहरु यसै क्षेत्रमा रहेका छन् ।

खुल्ला तथा उब्जाउ क्षेत्र
अहिलका बुटवलका १२ र १३ नम्बर वडा विगतमा तामनगर गाविस अन्तर्गत पर्दथ्यो । २०४९ सालको स्थानीय चुनावअघि तामनगर गाविसलाई बुटवलमा गाभियो ।
त्यसैगरी २०७१ साल मंसिर महिनामा साविकका मोतिपुर र सेमलार गाविसलाई पनि गाभेर बुटवल उपमहानगरपालिका भयो । अहिले बुटवलको १२ नम्बर वडादेखि १९ सम्मको क्षेत्रलाई खुल्ला तथा उब्जाउ क्षेत्र मानिन्छ । यस स्थानमा केही खेतीयोग्य जमिनहरु प्नि छ । तर प्लटिङ र बसाइसराइ भएर आउनेहरुका कारण खेतीयोग्य जमिन मासिने क्रम पनि बढेको छ ।

चुनौती र सम्भावना
सुकुम्बासी समस्या, सवारी चाप, तीब्र बसाइसराइ बुटवलका मुख्य चुनौती हुन् । बुटवलको ११ नम्बर वडामा बाक्लो सुकुम्बासी बस्ती छ । त्यसबाहेक अन्य वडामा पनि सुकुम्बासी बस्ती फैलिएको छ । प्रत्येक चुनाबमा सुकुम्बासी समस्या समाधान चुनावी नारा बन्छन् समस्या उस्तै नै छ ।
बेला बेलामा बुटवलका सडकमा ट्राफिक जाम पनि भइरहन्छ । दिन प्रतिदिन निजी सवारीसाधन थपिएका छन् । तर पार्किङ गर्ने ठाउँको अभाव छ । डेढ दशक अघि बनेको बुटवल बसपार्क पनि साँघुरो भएको छ ।
अध्ययन, जागिर र व्यवसायको लागि मानिसहरु बुटवलमा छन् । जागिर तथा व्यवसाय गरेर कतिपयले यही घर बनाएर बसेका छन् । बुटवलमा घर थपिने क्रम तिब्र छ । अहिले बुटवलमा खुल्ला ठाउँ देख्न मुस्किल पर्दछ । यी बाहेक बुटवलको दीपनगर, सुख्खानगर क्षेत्रमा खानेपानीको समस्या छ । विवादका कारण फोहर व्यवस्थापनको टुंगो पनि लाग्न सकेको छैन ।
लुम्बिनी नजिकको बुटवलमा केही सम्भावना पनि छन् । बुद्धस्थल लुम्बिनीको विकास र भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलका कारण त्यसको प्रभाव बुटवलमा पनि पर्ने छ । एक डेढ वर्षको अवधिमा बुटवलमा सयौ होटल व्यवसाय थपिएका छन् । स्तरीय होटल तथा रेष्टुरेण्ट थपिने क्रम बढ्दो छ।
बुटवलमा रहेको ऐतिहासिक जितगढी किल्ला, फूलबारी, सिद्धबाबा धाम, रामापिथेकस पर्यटकीय स्थल हुन् । यस्तै बटौली क्षेत्रलाई पुरानो चिनारी झल्काउने गरी व्यवस्थीत गर्ने हो भने यी ठाउँ पर्यटकीय आकर्षणका केन्द्र बन्न सक्छन् । बुटवल मण्डपमा निर्माणाधीन अन्तराष्ट्रिय सभाहलले यो ठाउँको मुहार फेर्न सक्छ । अहिलेको बुटवल उपमहानगर महानरलाई महानगर बनाउने योजना पनि अघि सारिएको छ । प्रदेश ५ को राजधानीले निरन्तरता पाउने आशा पनि यहाँका स्थानीयमा बढेर गएको छ।