बिजुक्छेजी, अधिनायकवादको संस्कार छाड्नुस्, नत्र पार्टी सक्किएलाः वरिष्ठ नेता नेपाल

७ असार २०७६, शनिबार ११:५८

भक्तपुर , पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल मजदुर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गर्नुभएको छ ।

शनिबार भक्तपुरको सृजनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदले सञ्चालन गरेको भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा नेता नेपालले यस्तो बताउनुभएको हो ।

आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे मात्र आफ्नो पार्टी दिगो रहने बताउँदै उहाँले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिँड्ने र अरुको मुख बन्द गराउन खोजे आफै समाप्त हुने धारणा राख्नुभयो । सप्ताहव्यापी स्वास्थ्यसम्बन्धी अभिमूखीकरण एवं पाठेघरको परीक्षण शिविरको उद्घाटन गर्दै नेपालले भन्नुभयो, ‘नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस्, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किँदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।’

नेता नेपालले सरकार विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै स्वास्थ्य, कृषि, वातावरण, शिक्षा, उत्पादन, बजारीकरण जस्ता जुनसुकै क्षेत्रको सूचना प्रवाह र जनचेतना फैलाउन अग्रसर रहेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएबापत नेता नेपालले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई कदर पत्रले सम्मान गर्नुभयो ।