बालाजुमा ठेलागाडामाथि टिपर पल्टियो

१३ पुष २०७५, शुक्रबार ०९:४६

काठमाडौं । बालाजु बाइपासमा शुक्रबार बिहान टिपर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले थिचेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको हो ।


माटो बोकेर हिँडेको टिपरले थिचेर घाइते बिसंखेलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । महानगरीय ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले घाइते बिसंखेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।दुर्घटनामा घाइते बिसंखेको श्रीमती सान्नानीको बायाँ खुट्टा किचिएको छ । उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।