बालबच्चालाई बाआमाबाट छुट्ट्याउने अमेरिकी नीतिको मेलानियाले गरिन् विरोध

४ असार २०७५, सोमबार ०८:२८

असार ४, काठमाडौं ।

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पकी प्रवक्ताले मेलानियालाई ‘परिवारहरूबाट बालबच्चालाई छुट्ट्याएको देख्दा घृणा लागेको’ बताएकी छन् । उनका श्रीमान् राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले मेक्सिको सिमानामा मातापिताबाट बालबच्चा छुट्ट्याइदिने काम गरिरहेकोमा उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

प्रवक्ता स्टेफानी ग्रिशमले बताएअनुसार, प्रथम महिला ‘सबै कानून पालना गर्ने देश चाहिने’ तर ‘हृदयले शासन चलाउनुपर्ने’ भनिन् । उनले थपिन्, ‘मेलानिया दुवै पक्षहरू एकै ठाउँमा उभिएर सफल आप्रवासन सुधार गर्ने अपेक्षा राख्छिन् ।’

टेक्सासमा आमाबुवाबाट छुट्ट्याइएका बालबालिकालाई पिँजडामा राखेको समाचार सार्वजनिक भएपछि मेलानियाको वक्तव्य आएको हो । एउटा पिँजडामा २० जना बच्चा थिए ।

अमेरिकी सीमा गस्तीले पिँजडा राखिएका ठाउँमा मिडियालाई अलिकति प्रवेश गर्न दिएपछि यसको समाचार लेखिएको छ । तर ट्रम्पकी होमल्यान्ड सेक्युरिटी सचिव कर्स्टन नील्सनले यसको गलत समाचार लेखिएको आरोप लगाइन् ।

आफूले जारी गरेको वक्तव्यलाई थप व्याख्या गर्दै उनले भनिन्, ‘सीमाक्षेत्रमा परिवारहरूलाई छुट्ट्याउने हाम्रो कुनै नीति छैन । होमल्यान्ड सेक्युरिटीले अस्थायी हिरासतमा बालबालिकालाई आपराधिक समूह, मानव तस्कर, अपराधी र दुर्व्यवहारबाट संरक्षण गर्ने आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिने गरेको छ ।

हामीले पूर्ववर्ती प्रशासनहरूकै नीतिलाई निरन्तरा दिएका छौं । बच्चा खतरामा भएमा, परिवारका सदस्यबीच कस्टडियल सम्बन्ध नभएमा वा परिवारका वयस्क सदस्यले कानून तोडेमा मात्र बच्चाहरूलाई परिवारसँग छुट्ट्याइन्छ ।’

परिवारलाई छुट्ट्याउने कार्यादेश दिने कुनै कानून छैन । तर ह्वाइट हाउसले अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिमाथि आपराधिक अभियोजन बढाउने कार्य गरेका छन् ।

यसको अर्थ धेरै वयस्कहरू पुर्पक्ष हुन्जेल हिरासतमा बस्नुपरेको छ र बालबालिकाबाट छुट्टिन बाध्य भएका छन् । ट्रम्पले नीति ल्याउनुअघि आपराधिक रेकर्ड नभएका व्यक्तिलाई देवानी सुपूर्दगीका लागि सिफारिश गरिन्थ्यो र परिवारलाई प्रायः छुट्ट्याइँदैनथियो ।