बस्नेतको घरमा बम, सेना र प्रहरीको टोलीले निष्क्रिय

१८ मंसिर २०७४, सोमबार ०२:३९

मंसिर १८, भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पूर्वमन्त्री एवं नेकपा(एमाले) का युवा नेता महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा बम भेटिएको छ ।

आइतबार साँझ करिब ८ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बमलाई निष्क्रिय गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

उता कपिलवस्तुको चन्द्रौटा बजारनजिक बम विस्फोट भएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटा बजार नजिक रहेको कवाडी वस्तु थुपार्ने ठाउँमा साँझ विस्फोट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

स्थानीयवासीले शुरुमा गाडीको टायर पड्किएको होला भनेर खासै ध्यान दिएको थिएन । विस्फोट भएको ठाउँको निरीक्षण गरेको प्रहरीले विस्फोटबाट कुनै क्षति नभएको जनाएको छ ।