बम विष्फोट हुन थालेपछि सुनसरीमा सेनाको गस्ती

१४ मंसिर २०७४, बिहीबार ११:०७

मंसिर १४, सुनसरी ।
दिनँहु जस्तो बम विष्फोट हुन थालेपछि सुनसरीमा सेनाले गस्ती थालेको छ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आपराधिक समूहले बम विस्फोट गराउने सम्भावित स्थानहरुमा सेनाले उच्च निगरानी गर्ने भएको हो । यसअन्र्तगत आजदेखि सुनसरीका चारओटै निर्वाचन क्षेत्रका १६६ मतदानस्थल र ५२७ मतदान केन्द्रको सुरक्षा गर्ने गरी नेपाली सेनाले गस्ती थालेको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि सेना खटाइएलगत्तै धरान, इटहरी, दुहवी, इनरुवा, हरिनगरा, कप्तानगन्जलगायत स्थानमा सेनाको अस्थायी गुल्म स्थापना गरिएको छ । ती स्थानबाट सेनाले चौबीसै घन्टा मतदान केन्द्र, मतदाता र उम्मेदवारहरुको सुरक्षा निगरानी बढाउनेछ ।