बजेटको विरोधमा संसद बैठकमै मौनधारण

१० असार २०७५, आईतवार १०:१०

असार १०, काठमाडौं ।

सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहमा सांसद हृदयेश त्रिपाठीले सरकारले ल्याएको बजेटको विरोधमा संसद बैठकमै मौनधारण गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा ऊखु किसानको पक्षमा बोलेपछि बाँकी रहेको समयमा उनले मौनधारण गरेका हुन् ।

शून्य समयमा बोल्नका लागि सांसदले १ मिनेटको समय पाउँछन् । त्यसमध्ये करीब ४० सेकेन्ड बोलेपछि त्रिपाठीले नबोली बजेटविरुद्ध मौनधारण गरेका हुन् ।

ऊखु किसानको पक्षमा बोलिसकेपछि उनले भने – ‘सभामुख महोदय! बाँकी समय बजेटको विरोधमा मौनधारण गर्छु ।’

वर्तमान सरकारमा मन्त्री बन्ने अपेक्षा राखेका त्रिपाठी मन्त्री बन्न नपाएपछि रुष्ट छन् ।

सम्बोधनका क्रममा उनले चिनी मिलले ऊखु किसानको १० अर्ब रुपैयाँ नतिरेका कारण किसानहरू बैंकको ऋणका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको बताए ।

‘गृहमन्त्री र उद्योगमन्त्रीबीच छलफल भएको कुरा आएको थियो । सरकारले कारवाही गरेर भएपनि ऊखु किसानको पैसा दिलाइदिनु पर्‍यो,’ त्रिपाठीले भने ।