फेसबुकले आफ्नो साइटमा रहेको ट्रेण्डिङ न्यूज फिचर बन्द गर्ने

२८ जेष्ठ २०७५, सोमबार ०६:१६

जेठ २८, काठमाडौं । एजेन्सी

फेसबुकले ४ वर्षपछि आफ्नो साइटमा रहेको ट्रेण्डिङ न्यूज फिचर बन्द गर्दैछ ।

फेसबुकका एकजना अधिकारीले सञ्चार माध्यमहरुलाई बताए अनुुसार यो फिचर निकै पूरानो भएको र मानिसहरुबीच खासै लोकप्रिय पनि नभएको हुँदा बन्द गर्न थालिएको हो ।

उनका अनुसार ट्रेण्डिङ फिचरको विदाइसँगै फेसबुकले एक अर्को नयाँ फिचरको परीक्षण पनि गरिरहेको छ ।

समाचार अनुसार अब फेसबुकले ब्रेकिंग न्यूज नामक फिचरको परीक्षण गर्दैछ । यो फिचरलाई प्रकाशकहरुले आफ्नो स्टोरीमा एड गर्न सक्नेछन्, जसबाट स्थानीय समाचारहरु हाइलाइट हुनेछन् ।

एक अध्ययन अनुसार ४४ प्रतिशत अमेरिकी वयस्कहरु फेसबुकका माध्यमबाटै समाचार थाहा पाउँछन् । त्यसैले फेसबुकको यो नयाँ फिचर निकै उपयोगी हुने विश्वास गरिएको छ ।

फेसबुकको विद्यमान ट्रेंडिङ फिचरमा केही समस्याहरु थिए । यसबाट कुनै एकतर्फी राजनीतिक विचारधारायुक्त समाचार मात्रै ट्रेण्डिङ हुने गरेको पाइएको थियो ।

फेसबुकले पछिल्लोपटक उठाएको कदम फेक न्यूजका कारण खप्नु परिरहेको समस्या कम गर्न तथा राजनीतिक सन्तुलन बनाइराख्न सहयोगी हुने बताइएको छ ।

स्मरणरहोस् फेसबुकले सन् २०१४ मा ट्रेण्डिङ नामक फिचर नामक लञ्च गरेको थियो । यसले मेन न्यूज फिडको छेउमा मुख्य समाचारका हेडलाइन देखाइदिन्थ्यो । जसबाट प्रयोगकर्ताले त्यसबखत इन्टरनेटमा सबैभन्दा लोकप्रिय तथा चर्चाको समाचारका बारेमा थाहा पाउँदथे ।