प्रदेश–२ मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० पुग्यो

२० भाद्र २०७७, शनिबार १८:१४

जनकपुरधाम, प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ।

शनिबार पर्सा जिल्लामा दुईजनाको मृत्यु भएसँगै यस प्रदेशमा एक सय जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनु भयो ।
शनिबार पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका वडा नं २ का ७५ वर्षीय पुरुष र वीरगंज महानगरपालिका वडा नं १० आदर्शनगरका ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको झाले बताउनु भयो । देशभर २ सय ८० जनाको मृत्यु भएकोमा प्रदेश २ मा मात्र एक सय जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्युहुने अधिकांश बढी उमेर र दीर्घ रोगी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ। त्यस्तै बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहा र सप्तरीमा ८, ८, रौतहटमा ५, सर्लाहीमा ३ र एक भारतीय नागरिकको धनुषामै कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रदेश २ मा हालसम्म कुल १ लाख ४ हजार ५८ जनाको स्वाब संकलन गरिएकोमा ११ हजार ६१ जनाको रिपोर्ट पोजेटिभ, ८८ हजार २ सय ५२ जनाको नेगेटिभ, १ सय जनाको मृत्यु र ४ हजार ७ सय ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।