प्रत्यक्षतर्फ तीन सय ३० थरी मतपत्र छाप्ने तयारी

८ कार्तिक २०७४, बुधबार ०९:०८

कात्तिक ८, काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन सय ३० थरी मतपत्र छापिने भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हरेक निर्वाचन क्षेत्रमा जति उम्मेदवार छन् त्यति नै निर्वाचन चिह्न राखेर मतपत्र छाप्ने तयारी गरेको हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार हरेक निर्वाचन क्षेत्रमा पार्टी र उम्मेदवार फरक फरक हुने भएकोले यसो गर्न लागिएको जानकारी दिए । ‘एउटा निर्वाचन क्षेत्रभित्र प्रदेशका दुईवटा निर्वाचन क्षेत्र हुन्छन्’ अधिकारी अर्यालले भने, ‘हरेक प्रदेशका निर्वाचन क्षेत्रमा उम्मेदवार र पार्टीको संख्या फरक हुने हुँदा फरक÷फरक मतपत्र छाप्नु परेको हो ।’

उनले प्रत्येक निर्वाचन क्षेत्रमा अब जति जना उम्मेदवार कायम हुन्छन् त्यति मात्र निर्वाचन चिह्न राखेर मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी रहेको जानकारी दिए ।

यसैगरी निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवार भएका जति मात्र मतपत्र छाप्ने वैज्ञानिक विधि प्रयोग गरे पनि समानुपातिकमा भने स्थानीय तहमै गरेको कमजोरी दोहो¥याएको छ ।

निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका दलका आधारमा आयोगले प्रतिनिधिसभा निर्वाचनमा ८८ वटा चिह्न अंकित मतपत्र छापेको छ ।

आयोगले छापेको समानुपातिकतर्फको मतपत्रमा अब ३९ निर्वाचन चिन्ह औचित्यहिन छन् । ४९ राजनीतिक दलले मात्र समानुपातिक निर्वाचनमा भाग लिनका लागि आयोगमा बन्दसूची पेश गरेकाले बाँकी ३९ चिह्न औचित्यहिन भएका हुन् । ती निर्वाचन चिह्नकै कारण समानुपातिकतर्फ भने मत बदर हुने अवस्थालाई जिवित गरिदिएको छ ।